झापा- १ मा एमाले : कोइराला आउट, खरेल इन
१० बुँदे पक्षधर भएकै कारण रविन कोइरालाले प्रतिनिधिसभा निर्वाचनको लागि टिकट पाएनन् । झापा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारको लागि सर्वसम्मत सिफारिस भएपनि एमाले अध्यक्ष केपी ओलीले उनलाई टिकट दिएनन् । संविधानसभा सदस्य निर्वाचित भइसकेका कोइरालाको आत्मसम्मानमा चोट पुग्नेगरी उनलाई प्रदेशसभाको उम्मेदवार बनाउने ओलीले निर्णय गरे । तर, त्यस निर्णयलाई कोइरालाले अस्वीकार गरेका छन् ।
स्थायी कमिटी सदस्य अग्नि खरेल र देवराज घिमिरे दुबैलाई टिकट दिन ओलीले कोइरालालाई संघबाट झारेर प्रदेशमा चुनाव लड्न प्रस्ताव गरेका थिए । घिमिरे २ र खरेल १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुँदैछन् । संविधानसभा सदस्य कोइरालाले आफूले प्रतिनिधिसभा सदस्यका लागि तयारी गरिरहेकाले प्रदेशमा नउठ्ने जवाफ फर्काएका हुन् ।
कोइरालाले भने, ‘मैले आधिकारिक ठाउँमा प्रदेशमा उठ्दिन भनिसकेको छु ।’ आगामी निर्वाचनमा कांग्रेस–माओवादी केन्द्र–एकिकृत समाजवादीको गठबन्धनबाट कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा उम्मेदवार बन्ने भएपछि एमालेबाट झापा– १ मा कोइरालालाई बलियो उम्मेदवारको रुपमा मानिएको थियो। तर, कोइरालाको झुकाव १० बुँदे पक्षसँग भएका कारण उनले टिकट पाउने कुरा अनिश्चित नै थियो।
त्यस्तै १० बुँदे पक्षधर मानिएकी झापा– २ की निवर्तमान सांसद पवित्रा खरेल निरौला फेरि पनि सोही क्षेत्रबाट उम्मेदवार सिफारिस भएकी थिइन् । तर, उनले टिकट नपाउने कुरा यसअघि नै पार्टीभित्र चलिसकेको थियो ।उनी प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानवअधिकार समितिकी निवर्तमान सभापति समेत हुन्।
निवर्तमान सांसद निरौला एमालेभित्र ‘१० बुँदे’ पक्षधर नेतृको रुपमा चिनिन्छन्। शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर अभियानमा एमालेका १० बुँदे पक्षधर केही नेता सहभागी भएपनि निरौलाले भने हस्ताक्षर गरेकी थिइनन्। विभाजनपूर्व एमालेभित्र माधव नेपाल पक्षधर नेतृका रुपमा चिनिएकी उनी नेपालले एमाले विभाजन गरी ‘एकिकृत समाजवादी’ गठन गर्दा त्यसमा पनि सक्रिय भइनन्।
देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेपनि र नेपाल नेतृत्वको एकिकृत समाजवादीमा सहभागी नभएपनि अध्यक्ष ओली निरौलाप्रति कहिल्यै सकरात्मक रहेनन्।