निर्वाचनपछि राप्रपा बलियो शक्तिको रुपमा संसद्मा उपस्थिति हुन्छ : राजेन्द्रप्रसाद लिङदेन
झापा । राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि राप्रपा बलियो शक्तिको रुपमा संसद्मा उपस्थिति हुने बताएका छन् ।
जिल्ला समन्वय समितिको कार्यालय भद्रपुरमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइतबार बिहान झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएपश्चात् सञ्चारकर्मीहरूसँग गरेको संक्षिप्त कुराकानीमा राप्रपा अध्यक्ष लिङदेन यस्तो बताएका हुन् ।
राष्ट्रिय राजनीतिमा मौलाएको भ्रष्टाचार, कुशासनको अन्त्य गर्दै देशमा सुशासन कायम गर्नका लागि हाम्रो पार्टीको उपस्थिति संसद्मा आवश्यक छ । यस पल्ट राप्रपा देशको अग्रणी शक्तिको रुपमा उदाउने उनको धारणा छ । संसद्मा राप्रपाबाट म एक्लो प्रतिनिधि थिए । म एक्लो भएर पनि संसद्मा जुन भूमिका निर्वाह गरे म सन्तुष्ट छु ।
‘भ्रष्टाचार, सुशासन, इमान र नैतिकताको पक्षमा जसरी म संसद्मा चट्टान भएर उभिए, त्यसले ठुला दललाई कतिपय कुरामा झुक्न बाध्य बनाउन सफल भएकोमा मलाई गर्व लागेको छ’ उनले भने ।
अहिलेको निर्वाचनमा चुनावी तालमेल सामान्य जस्तो बन्दै गएको बताउँदै उनले भने, ‘त्यही भएर राप्रपाले एमालेसँग चुनावी तालमेल गरेर अघि बढेको हो, यसलाई अन्यथा मान्नै पर्दैन ।’
तीन दशकदेखि नेपाली काँग्रेसले झापा क्षेत्र नम्बर ३ मा नेतृत्व गर्दै आए पनि यस क्षेत्रले अविकसितता, पछौटोपन बेहोर्दै आएको छ । ‘यस्तो अवस्थाको अन्त्यसँगै विकास र समृद्धिको पथमा यस क्षेत्रलाई लैजानका लागि मैले फेरि उम्मेदवारी दिएको हुँ,’ उनले भने ।
अघिल्लो पाँच वर्षमा यस क्षेत्रको मैले नेतृत्व गरिरहँदा विकासमा फड्को मारेको छ । केही काम गर्न अझै बाँकी छ । यसलाई पूर्णता दिनलाई राप्रपाबाट मैले नै यस क्षेत्रको प्रतिनिधित्व गर्न जरुरी ठानेको उनको भनाई छ ।
। एमाले र राप्रपाबीच झापा क्षेत्र नम्बर ३ मा चुनावी तालमेल भएपश्चात् एमालेका नेताले नै बागी उम्मेदवार बन्दैछ भन्ने जिज्ञासा उनले भने, ‘कुनै पार्टीको व्यक्तिले बागी उम्मेदवार दिँदैछन् भनेर केही सूचना काहीँ कतैबाट आएको छैन, आम नागरिकलाई स्वतन्त्र उम्मेदवार बन्ने अधिकार छ, मेरो कसैप्रति कुनै व्यक्तिगत टिप्पणी छैन ।’