गठबन्धन भोट जित्नलाई, संसद् हुनलाई होइन, देशको आमूल परिवर्तनका लागि हो : नेता सिटौला
झापा । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले यो गठबन्धन भोट जित्नलाई, संसद् हुनलाई, भत्ता खानलाई, सुविधा लिनका लागि मात्र नभएको प्रस्टाएका छन् ।
झापा ३ बाट प्रतिनिधिसभा सदस्य पदका लागि वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका नेता सिटौलाले भद्रपुरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै यो गठबन्धन नेपालको आमूल परिवर्तन, लामो यात्राको प्रारम्भ भएको बताएका छन् ।
यो गठबन्धनमा फरक दृष्टिकोण, फरक विचार, फरक सोच भएका दलहरू एक ठाउँमा उभिएर जनताप्रति समर्पित भएर राष्ट्र तथा अन्तर्राष्ट्र जगतलाई नयाँ सन्देश दिन खोजेको उनले बताए ।
अब नेपालमा नयाँ परिवर्तन चाहिन्छ । काँग्रेस र कम्युनिस्ट मिलेर निर्वाचनको बेलामा सहयात्रा गर्ने कुरा चानचुने कुरा होइन । यो हाम्रो लागि ठुलो संकल्प हो । ‘जसरी १२ बुँदे सहमति गरेर हामीले निरङ्कुश राजतन्त्र ढाल्यौँ,’ उनले भने, ‘यो नयाँ गठबन्धन गरेर हरेक प्रकारका शोषण र दमनबाट नेपाली समाजलाई मुक्त गर्ने हामीले संकल्प गरेका छौँ ।’
उनले भने, ‘तपाईँले हामीलाई मत दिएर जिताउनु होस, हामी पाँच वर्षमा तपाईँको अनुहार र समाजमा परिवर्तनसँगै खुसीयाली ल्याउँछौँ ।’ कोसँग कति कम र बढी मत छ त्यो ताकत होइन, कोसँग बढी विचार छ, त्यो नै हो ताकत । विचारबिना राजनीति चल्दैन । ‘विचारले नै हो हामी र समाजलाई हिँडाउने,’ उनले भने । निर्वाचनकै माध्यमबाट देशभर चेतना र जागरणकै विकास हुने उनको भनाई छ ।
काठमाडौँमा शनिवार रातभरि गठबन्धनबीच सिट बाडफाडको विषयमा बैठक हुँदा उम्मेदवारी दर्ता वारेसनामामार्फत गराउनु परेको उनको भनाई छ ।