२०८३ जेष्ठ १२ गते , मंगलबार

एमाले र राप्रपा गठबन्धनका उम्मेदवारविरुद्ध डम्बरबहादुर गिरीको बागी उम्मेदवारी

sajilo news
झापा
२०७९ आश्विन २३ गते , आईतबार
एमाले र राप्रपा गठबन्धनका उम्मेदवारविरुद्ध डम्बरबहादुर गिरीको बागी उम्मेदवारी

एमाले नेता डम्बरबहादुर गिरीले एमाले र राप्रपा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका छन् । गिरीले एमाले र राप्रपा गठबन्धनका प्रतिनिधिसभा सदस्य पदका साझा उम्मेदवार राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनविरुद्ध बागी उम्मेदवारी दिएका हुन् । 
झापा हल्दिबारी गाउँपालिकाका निवर्तमान उपाध्यक्ष एवं गत स्थानीय निर्वाचनमा अध्यक्षका उम्मेदवार गिरीले झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदका लागि आइतबार स्वतन्त्र पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

लामो समयदेखि  एमालेमा आबद्ध भई सक्रिय राजनीतिमा लागेका उनी नेकपा एमालेका जिल्ला सदस्य तथा सचिवालय सदस्य हुन् । झापा क्षेत्र नम्बर ३ लाई विकास र समृद्धितर्फ डोर्‍याउन भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन्। हकी स्वभाव, निडर, साहसी, क्षमतावान् गिरी युवाहरूमा लोकप्रिय छन्। 

उनले फेसबुकमा यस्तो लेखेका छन् । 
आदरणीय झापा क्षेत्र न. ३ बासी आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू,
म विगत २०६२/६३ को जनआन्दोलन सँगै मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रुपमा रूपान्तरण गर्ने अभियानमा नेकपा एमाले मार्फत सङ्गठित भई नेकपा एमालेको साबिक जलथल गाउँ कमिटी अध्यक्ष, क्षेत्रीय कमिटी क्षेत्र न. ३ को अध्यक्ष, युवा सङ्घ नेपाल झापाको अध्यक्ष हुँदै हाल नेकपा एमाले झापा जिल्ला कमिटी सचिवालय सदस्य एवम् क्षेत्र न. ३ को सचिव समेतको जिम्मेवारीमा रहेको सर्वविदितै छ ।
राजतन्त्र, पञ्चायती व्यवस्थाको अन्त्य भई मुलुक गणतान्त्रिक व्यवस्थामा रूपान्तरण भएसँगै अब आर्थिक सामाजिक रूपान्तरणको माध्यमबाट समाजवादका आधारहरू निर्माण गर्दै समृद्ध नेपाल स् सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई साकार पार्न गठबन्धन होइन बलियो राष्ट्रिय शक्ति आजको आवश्यकता हो । त्यसका लागि नेकपा एमालेले मुलुकको नेतृत्व गर्नुपर्छ भन्ने आम नेपाली जनताहरूको चाहाना विपरीत झापा क्षेत्र न. ३ मा पुरातन पञ्चायती शैलीको पार्टी राप्रपासँग तालमेल गर्ने पार्टीको निर्णय आम पार्टी नेता कार्यकर्ता, समर्थक र शुभचिन्तकको चाहाना र मुलुकको हित विपरीत रहेको ठहर गर्दै, स्वतन्त्र उम्मेदवारको रुपमा प्रतिनिधि सभा सदस्यमा मनोनयन दर्ता गरेको जानकारी गराउन चाहन्छु ।२०७९/०६/२३
 

सम्बन्धित समाचार