झापा- २ मा गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिने भट्टराईलाई कारबाहीमा
झापा । झापा क्षेत्र नम्बर- २ मा गठबन्धनका साझा उम्मेदवारविरुद्ध प्रतिनिधिसभा सदस्य पदमा बागी उम्मेदवारी दिएका कुमार भट्टराईलाई पार्टीले कारबाही गरेको छ ।
नेपाली काँग्रेसको नीति विपरीत चुनावी गतिविधि गर्ने पार्टीका क्षेत्रीय प्रतिनिधि समेत रहेका बिर्तामोड नगरपालिका- ४ निवासी भट्टराईसहित पाँच जनालाई काँग्रेसले कारबाही गरेको हो ।
नेपाली काँग्रेस बिर्तामोड नगर समिति र क्षेत्र नम्बर २ प्रदेश (क) समितिले पार्टी नीति विपरीत गठबन्धनका साझा उम्मेदवार हरिकुमार राणाविरुद्ध उम्मेदवारी दिने भट्टराई र उनका समर्थक रामप्रसाद मैनालीलाई कारबाही गर्न जिल्ला कार्य समितिलाई सिफारिस गरेको हो ।
त्यसैगरी प्रदेश (क) मै प्रदेशसभा सदस्यमा उम्मेदवारी दिने क्रियाशील सदस्यहरू राजु प्रसाईँ र उनका समर्थक पर्शुराम भट्टराई एवम् कमल सिटौलालाई साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निष्कासन गर्न नगर र प्रदेश समितिको संयुक्त बैठकले जिल्ला समितिमा सिफारिस गर्ने निर्णय गरिएको कार्यवाहक सभापति सूर्य कन्दङ्वाले जानकारी दिए ।
साथै निर्वाचनको सँघारमा पार्टी र गठबन्धन दलका उम्मेदवारविरुद्ध अभिव्यक्ति दिने, सामाजिक सञ्जालको दुरुपयोग गर्ने, संगठनको हित विपरीत गतिविधिमा संलग्नहरूको अभिलेख राखेर कडा कारबाही गर्न बैठकले जिल्ला समितिलाई अनुरोध गरेको उनको भनाई छ । सो बैठक प्रदेश सभापति लक्ष्मी आचार्यको समन्वयमा भएको थियो ।