२०८३ जेष्ठ १२ गते , मंगलबार

राष्ट्र निर्माण गर्ने शक्तिहरूलाई जनताले मतदान गर्छ : लिङदेन

sajilo news
झापा
२०७९ कार्तिक १ गते , मंगलबार
राष्ट्र निर्माण गर्ने शक्तिहरूलाई जनताले मतदान गर्छ : लिङदेन

भद्रपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मंसिर ४ गते हुने निर्वाचनमा देशभक्त, विकास प्रेमी र राष्ट्र निर्माण गर्ने शक्तिहरूलाई जनताले मतदान गर्ने बताएका छन् । 

भद्रपुरको मोहपाल धर्मशालामा नेकपा एमाले र राप्रपा निकट युवा, विद्यार्थी तथा भूतपूर्व सैनिक संगठनका अगुवा कार्यकर्तासँगको उम्मेदवार परिचय कार्यक्रममा झापा क्षेत्र नं. ३ का प्रतिनिधिसभाका उम्मेदवार लिङ्देनले कुनै एक व्यक्तिलाई हराउने वा जिताउने कुराले कुनै अर्थ नराख्ने भन्नुहुँदै राष्ट्र राष्ट्रियताको जगेर्ना गर्ने र देशको भविष्यसँग जोडिएको बताए । 

उनले यो क्षेत्रबाट जितेर गएकाहरूले कुनै काम नगरेकोले त्यो समयमा पक्की सडक हेर्न सदरमुकाम आउनु पर्दथ्यो, तर आज केचनाका बासिन्दा आफ्नै पालिकामा पक्की सडकमा हिँड्न थालेको बताए । 

कार्यक्रममा, झापा क्षेत्र नं. ३ (१) का प्रदेश सभाका उम्मेदवार वसन्त बानियाँले देशमा प्रजातन्त्र आएपछिको ३० वर्षसम्म देशले विकास निर्माण कार्यक्रमहरू के के पायो र पछिल्लो ३ वर्षमा देशमा ३० वर्षमा हुन नसकेको विकास निर्माणका कामहरू भएको बताए । 

नेकपा एमालेका प्रदेश कमिटी सचिवालय सदस्य बानियाँले एमाले र राप्रपाको चुनावी तालमेल गर्दा गठबन्धन दलले गणतन्त्र र राजतन्त्रको कुरा रहेको चर्चा गर्नुहुँदै भने, गठबन्धन दलले दमक नगरपालिकाको निर्वाचनमा मेयरमा मतदान गर्दा किन नसोचेको भनी प्रश्न गरे । झापा क्षेत्र नम्बर ३ (२) प्रदेशसभाका उम्मेदवार छविलाल चूडालले देशैभरि युवाहरूको माग बढेकाले झापा ३ (१) र ३ (२) मा हामी एमालेका उमेद्वारहरु दुवै युवाको प्रतिनिधित्व गरिरहेका छौँ भने ।

एमाले जिल्ला सचिवालय सदस्य समेत रहेका प्रदेशसभाका उम्मेदवार चुडालले म युवा भएको नाताले कहीँ कतै आर्थिक, नैतिक र सामाजिक हिसाबले युवाहरूको मनोबल टुट्न नदिने र तपाई युवाहरूको मान र सान बढ्ने गरी काम गर्ने बचनबद्धता व्यक्त गरे । 

कार्यक्रममा निर्वाचन निर्देशक संयुक्त समितिका सदस्य जीवनकुमार श्रेष्ठले हामी हिजोका कमी कमजोरी सच्याउँदै एकमना एकताका साथ निर्वाचनमा छौँ नेकपा एमाले र राप्रपाका संयुक्त उमेद्वारलाई जिताउन चुनावी अभियानमा रहेको बताए । हामीभित्र अनेकन भ्रमहरू सिर्जना गरिएकोले भ्रामक प्रचार चिर्दै हामी अघि बढिरहेको उनले बताए । प्रजातान्त्रिक युवा परिषद् झापाका अध्यक्ष शङ्कर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अनेरास्ववियु झापाका अध्यक्ष रोशन लामाले स्वागत गर्दै देश बनाउने पार्टीलाई निर्वाचित गर्न तमाम युवा विद्यार्थीहरू गोलबन्द हुन थालेको बताए ।

सम्बन्धित समाचार