२०८३ जेष्ठ १२ गते , मंगलबार

भ्रममा नपर्न माओवादी केन्द्र शिवसताक्षीको आग्रह

sajilo news
झापा
२०७९ कार्तिक १५ गते , मंगलबार
भ्रममा नपर्न माओवादी केन्द्र शिवसताक्षीको आग्रह

झापा । विगत केही दिनदेखि माओवादी केन्द्रका ४० जनाले राजीनामा दिएको भन्दै सञ्चारमाध्यममा आएको समाचारप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको नेकपा माओवादी केन्द्र शिबसताक्षीले जनाएको छ । 

शिवसताक्षी नगर कमिटीले एक प्रेस विज्ञप्ति जारी गरी त्यस्तो भ्रममा नपर्न सबैलाई आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ “हामीहरूको समेत नाम जोडी माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहने गरी राजीनामा गरेको भन्ने समाचारमा कुनै सत्यता नरहेकोले कसैलाई भ्रममा नपर्न र नपार्न अनुरोध गर्दै पार्टीभित्र असहमतिका विषय भए कमिटीमा छलफल गरी निकास निकाल्न पनि हामी सबैमा अवगत गराउँदै बैठकमा भएको हस्ताक्षरको दुरुपयोग गरिएकोमा गम्भीर ध्यानाकर्षण भएको र हामी माओवादी केन्द्रमै रहेको जानकारी गराउन चाहन्छौ ।”

यसरी विज्ञप्ति जारी गर्नेहरूमा नगर सचिव भुवन सेन्दाङ , वाइसिएल नेपालका अध्यक्ष इन्द्र न्यौपाने ,उपाध्यक्ष सञ्जीव राई ,नगर सचिवालय सदस्य धनकुमार ढकाल , धनेन राई छन् । त्यस्तै फिरोज ढकाल, खगेन्द्र राई , डम्बर लिम्बू, भीमबहादुर थापा ,सन्तोष काफ्ले ९उमाकान्त० आशिष् घिमिरेलगायतले पनि आफूहरू माओवादीमै रहेको स्पष्ट पारेका छन् ।

यता नगर अध्यक्ष महेन्द्र भट्टराईले राजीनामाको विषय हल्ला मात्रै भएको भन्दै कार्यकर्ताहरू चुनावी कार्यक्रममा व्यस्त भएको बेला गोयबल्स शैलीमा प्रचार गरिनु र माइन्युटको दुरुपयोग गर्नु गलत भएको बताए । पार्टीमा सैद्धान्तिक विषयमा कसैको असहमति भए छलफलबाट निकास निकाल्न नगर समिति तयार रहेको पनि उनले बताए । उनले पार्टीभित्र गल्ती गर्ने कसैलाई पनि छुट नभएको स्पष्ट पारे । पार्टी परित्याग कसैले पनि नगरेको पनि उनले बताए ।सम्बन्धित व्यक्ति वा पार्टी कमिटीलाई नसोधी समाचार लेखेकोमा आपत्ति जनाउँदै उनले आग्रह पूर्वाग्रह भएर समाचार नलेख्न आग्रह गरेका छन् ।

सम्बन्धित समाचार