२०८३ बैशाख ३१ गते , विहीबार

सभापतिका कारण काँग्रेस नेतृत्वमा सरकार बन्न सकेन : महामन्त्री शर्मा

sajilo news
रेवतीराज घिमिरे
२०७९ पौष १६ गते , शनिबार
सभापतिका कारण काँग्रेस नेतृत्वमा सरकार बन्न सकेन : महामन्त्री शर्मा

भद्रपुर । नेपाली काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सत्ता समीकरणमा भएको अकल्पनीय घट्नाप्रति कार्यकर्तालाई नआत्तिन र निराश नबन्न आग्रह गरेका छन् ।    

भद्रपुर-१० स्थित बिपी प्रतिष्ठान चन्द्रगढीको वार्षिक साधारण सभालाई सम्बोधन सङ्घीय सांसद समेत रहेका शर्माले सभापतिको कारण नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्न नसकेर गठबन्धन टुटेको जिकिर गरे ।  

अबका दिनमा थप ऊर्जा र विश्वासका साथ पार्टी अघि बढ्ने बताउँदै उनले नेता तथा कार्यकर्तालाई जनतामाझ गएर जनमुखी कार्यमा लाग्नुपर्ने बेला आएको बताए ।  

पार्टी सभापतिलाई गठबन्धनमा प्रधानमन्त्री पदका विषयमा प्रचण्डलाई दिने भनेर  आफू र गगन थापाले पटक पटक भन्दा पनि सभापतिले नसुन्दा यो स्थिति आएको उनको भनाई छ ।

कांग्रेसले निराश भएर जानु पर्ने स्थिति छैन । अबका दिनमा कमी कमजोरीलाई केलाएर जनतामाझ जाने र पार्टीलाई पुनः जागरणको माध्यमबाट अघि बढाउनु पर्ने उनले जोड दिए । 

जसरी बर्तमान परिस्थितिमा  कम्युनिष्टहरुको सरकार बन्यो त्यसरी नै  छिट्टै काँग्रेसको  नेतृत्वमा सरकार बन्ने उनको दाबी छ ।      बिपीको मेलमिलापको नीति अहिले पनि उतिकै सान्दर्भिक क रहेको बताउँदै उनले अबका दिनमा पार्टी फुटेर हैन जुटेर नयाँ ढङ्गले अघि बढ्नु पर्ने धारणा राखे । 

मोहन सिंह कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज नेता डिल्ली सिटौला, काँग्रेसका केन्द्रीय सदस्यहरू गोमा भट्टराई ,सुशीला ढकाल,  काँग्रेस झापा सभापति देउमान् थेबे, उपसभापति केशवराज पाण्डे, पूर्व उपसभापति राम कट्टेल, क्षेत्रीय सभापतिहरू गणेश पोखरेल, इन्द्र बुढाथोकी, भद्रपुर सभापति राम कँडेल, माओवादी केन्द्रका दिनानाथ उप्रेती लगायतले बिपीको मेलमिलापको नीति अहिले पनि सान्दर्भिक भएको बताउँदै नेतृत्वकै कारण बर्तमान सत्ता समीकरणबाट काँग्रेस चुकेकोमा जोड दिए । 

देवेन्द्र गौतमले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य भुमादेवी घिमिरेले राखेकी थिइन् । आजै प्रतिष्ठानले गोविन्द लम्सालको नेतृत्वमा नयाँ कार्य समिति समेत गठन गरिएको छ । 

 

सम्बन्धित समाचार