२०८३ भाद्र ९ गते , मंगलबार

झापामा ३६ जातका रैथाने धान

sajilo news
रासस
२०८० जेष्ठ २ गते , मंगलबार
झापामा ३६ जातका रैथाने धान

झापा । जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लि–बर्ड) नामक गैरसरकारी संस्थाले अन्न भण्डार मानिएको झापा जिल्लामा ३६ जातको रैथाने धान फेला पारेको छ ।

झापाको शिवसताक्षी नगरपालिकास्थित शिवगञ्जमा कार्यालय स्थापना गरेर संस्थाले रैथाने जातको धानको खोज तथा संरक्षण गर्ने क्रममा ६२ जातको बीउ फेला पारेको र त्यसमध्ये ३६ वटा जात झापामै भेटिएको हो ।

लि–बर्डका प्राविधिक सहायक पूर्ण पौडेलले स्थानीय किसानले परम्परागत रुपमा उत्पादन गर्दै आएका धानको अध्ययन गर्दा झापामै ३६ जात अभिलेख भएको बताए । फेला परेका धानका जातलाई संरक्षणका लागि स्थानीय सामुदायिक बीउ बैंकमा भण्डारण गरिएको र किसानलाई यी धानको खेतीमा प्रोत्साहित गरिएको उनले जानकारी दिए ।

कृषि अर्थविज्ञ तथा कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख शालिकराम भट्टराईले लि–बर्डद्वारा धानको रैथाने जातको विषयमा गरिएको खोज महत्वपूर्ण रहेको बताए । उनले अधिकांश रैथाने धान लोपोन्मुख अवस्थाबाट गुज्रिरहेकोसमेत जानकारी दिए ।

“झापाको कृषि ज्ञान केन्द्रमा लामो समय कार्यरत रहँदा मैले पनि धानको रैथाने जातको बारेमा अध्ययन गरेको थिएँ,” पाँचथर कृषि ज्ञान केन्द्रका प्रमुख भट्टराईले भने, “लि–बर्डले गहन रुपमा खोज गरेर रैथाने धानको संरक्षणमा पु¥याएको योगदान अतुलनीय छ ।”

सम्बन्धित समाचार