साउन १ गतेदेखि सबै विदेशी च्यानल बन्द हुने
यही साउन १ गतेदेखि सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द हुने भएका छन । शुक्रबार सूचना तथा प्रसारण विभागले एक विज्ञप्ति जारी गर्दै ‘अला कार्ट’ शुल्क प्रणालीका च्यानलहरू प्याकेजहरू प्राप्त नभएको भन्दै च्यानल नै बन्द हुने भएको सूचना जारी गरेको हो ।
‘अला कार्ट’ प्रणाली पे च्यानलका भारतीय टिभी च्यानल प्रसारक संस्थाहरूले सहयोग नगर्ने बताएपछि विभागले यो विषयसँग सम्बन्धित निकायलाई सरकारले निर्देशन पालना गरी सहयोग गर्न अपील गरेको छ ।
भारतीय च्यानलहरुको छाता संगठन इन्डियन ब्रोडकास्टिङ एन्ड डिजिटल फाउन्डेसनले सूचना तथा प्रसारण विभागलाई पत्राचार गर्दै च्यानलहरूको प्रत्येक च्यानलको छुट्टा छुट्टै मूल्य तोक्ने कुरा मान्य नहुने जानकारी गराएको छ । सोनी, जी, डिस्कभरि, स्टार, कलर्स, एचबीओ, लगायतका विदेशी च्यानलका प्याकेज दिनेहरूले बुकेहरू, त्यसको मूल्य र बुकेमा हुने च्यानलहरूको प्रति इकाई मूल्य प्रस्ताव गरेका छैनन् ।
विभागले जारी गरेको विज्ञप्तिमा सरकाले मागअनुसार बुके र शुल्क नबुझाएकाले अला कार्ट प्रणाली लागु गर्न अवरोध देखिएको उल्लेख छ । सरकारले २८ असारसम्म विदेशबाट पैसा तिरेर खरिद गरिने विदेशी च्यानलहरूले बुके र यस्तो बुकेमा रहने च्यानलको प्रत्येक च्यानलको छुट्टा–छुट्टै मूल्य बुझाउनुपर्ने नियम बनाए पनि कोही पनि तयार नभएका हुन् ।
