दमकमा तेस्रो लिङ्गीको तमास, प्रहरी प्रशासन किन मौन ?
दमक । यौनिक अल्पसङ्ख्यकहरूको एक समूहले दमक चौक आसपासमा उपद्रो मच्चाउँदै आएका छन् । विशेषसरि दमक चौकको पशुहाट डाँडास्थित सडक खण्डमा दैनिकजसो रातीपख तेश्रोलिङ्गीहरुले तमास गरिआएमनि प्रशासन भने मौन बसेका छन् ।
उनीहरूको अमर्यादित हर्कतले आफूहरू नराम्ररी पीडित हुनुपरेको स्थानीय युवा व्यवसायी चन्द्र खत्रीले बताए ।
उनका अनुसार राती पख दैनिक जसो ८,१० जना सङ्ख्यामा आउने तेश्रोलिङ्गीहरुले सडकमा हिँड्ने युवाहरूलाई आकर्षित गरी खुलेआम यौन धन्दा गरिआएका छन् । राती पख त्यस बाटो भएर हिड्डुल गर्न नै आफूहरूलाई अफ्ठयारो भएको उनको गुनासो छ ।दमक जेसीजका पूर्व अध्यक्ष समेत दमक ८ निवासी खत्री भन्छन् , –‘यहाँको यो गतिविधिले समाजलाई नै विकृत बनाएको छ , यस्ता गतिविधि नियन्त्रण गर्न पटक पटक प्रहरीसँग गुनासो गरेपनि खासै चासो दिँदैनन् ’
भड्किलो लुगा लगाएर सधैँ राती ९ बजेदेखि सडकमा निस्किने यस्ता तेश्रोलिङ्गीहरुले भेटिएका युवाहरूलाई धन्दा गरी सन्तुष्टि गरिदिने भन्दै पैसाको बार्गेनिङ गरिआएका दमकका अगुवा होटेल व्यवसायी राजन दंगालले बताए । होटेल व्यवसायी महासंघ प्रदेश समितिका अध्यक्ष समेत रहेका व्यवसायी दंगालले समाजमा पाच्य नहुने गरी तेश्रोलिङ्गीहरुले यसरी खुलमखुला धन्दा गरेर यस ठाउँको नै नाम बदनाम गरिआएको बताउँछन् ।
यस्तो भड्किलो हर्कतले राती पख भने परिवारसँग बाहिर निस्किन नै समस्या भएको गुनासो सुनाउँदै उनले यस किसिमको हर्कत अविलम्ब नियन्त्रण गरिनु पर्ने बताउँछन् ।कतिपय अवस्थामा त्यस्ता व्यक्तिले ललाइफकाइ गरी लुटपाट गर्ने सम्म काम गरिआएका स्थानीयको भनाई छ ।
यता इलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुख डिएसपी मनोजकुमार लामाले दमक बसपार्क डाँडामा राती पख तेश्रोलिङ्गीहरुले गदै आएको हर्कतका बारे पटक पटक गुनासो आए पनि पूर्ण रुपमा नियन्त्रण गर्न कठिनाइ भएको बताउँछन् । त्यस्ता मान्छे समातेर कार्यालयमा थुन्न नै लैङ्गिक रुपमा समस्या भएको उनले बताए । उनले घुमाउरो शैलीमा त्यस्ता मान्छेलाई समातेर ल्याउन प्रहरीलाई लैङ्गिक रुपमा समस्या हुँदै आएको बताउँछन् । राती पख सडकमा कसैले बोलाएर आकर्षण गर्न खोज्ने शैली गरिआए त्यस्तो कार्यमा संलग्न नहुन उनले सुझाए ।