सारुक आत्महत्या प्रकरणमा ममाथि एकतर्फी प्रहार भयो : नम्रता
काठमाडौँ । सारुक ताम्राकार आत्महत्या प्रकरणमा आफूविरुद्ध एकतर्फी प्रहार गरिएको नायिका नम्रता श्रेष्ठले गुनासो गरेकी छिन्। अभिनेत्री श्रेष्ठले अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेको प्रकरणमा आफूविरुद्ध एकतर्फी रूपमा प्रहार गरिएको सामाजिक सञ्जालमार्फत गुनासो गरेका हुन् ।
उनले केही मुठ्ठीभरका मानिसहरू आफूविरुद्ध हात धोएर लागेको पनि जिकिर गरिन । उनले आफूलाई सारुकको आत्महत्याको मुख्य कारक ठहर गर्ने प्रयास गरिएको र आफूविरुद्ध गलत हल्ला फैलाइएको समेत लेखिन् । उनले आफू क्यानडा नगएको तर मिडियामा क्यानडा भागेको भनेर गलत हल्ला फैलाइएको समेत बताइन् ।
‘मेरो परिवार र हाम्रो कानुनी टिमले त्यो किसिमको हर्कतलाई नजिकबाट नियालिरहेका थियौँ, एक जना महिला भएकै कारण यति धेरै सामाजिक आक्रमण भएको होला, सायद किनकि यो पुरुष प्रधान समाज हो ठिकै छ । मेरो मौनतालाई कमजोरी नठान्न अपिल गर्दछु,’ उनले लेखेकी छिन् ।
सारुक ताम्राकारले आत्महत्या गरेपछि उनले काम गरिरहेको चलचित्र ‘माया’ की कलाकारसमेत रहनुभएकी नम्रतालाई नै कारक ठहर गर्ने गरी केही हल्ला बाहिरिएका थिए । केहीले सारुक र नम्रताको झगडा भएको समेत दाबी गर्ने गरेका छन् ।
उनले सारुकको निधनप्रति श्रद्धाञ्जली दिँदै परिवारप्रति समवेदना व्यक्त गरेर आफ्नो कुरा सुरु गरिन् । यस्तै, सारुकको आत्महत्याले आफूलाई अचम्मित तुल्याएको पनि बताइन् । घटना केही समयअघिको भए पनि अहिले सामाजिक सञ्जालमार्फत यसबारे बोल्न बाध्य भएको उनको भनाइ छ ।
आफू विरलै मिडियामा आउने गरेको तर यो घटनापश्चात् एकलौटी रूपमा विभिन्न मिडियामार्फत कपोकल्पित समाचार लेख्न र लेखाउन केही अनलाइन मिडियाहरू, केही सिनेकर्मी र केही पदाधिकारीहरू पूर्वाग्रही हिसाबले लागेको र यो क्रियाकलापलाई उनको परिवार र कानुनी समूहले नजिकबाट नियालेका उनले उल्लेख गरिन् ।
अनुसन्धानमा असर पर्ने भएकाले आफू अहिलेसम्म मिडियामा नबोलेको भन्दै उनले प्रहरी प्रशासनले बोलाएका बेला उपस्थित भएर बयान दिइसकेको बताइन् । । ‘तर यहाँ एकतर्फी रूपमा केही मुठ्ठीभर मान्छेहरू हात धोएरै लागे, त्यो कुरा मिडियामा सबैले पढ्नु भएकै छ,’ उनले भनिन्, ‘आत्महत्याजस्तो संवेदनशील विषयलाई ग्लोरिफाइ गर्नु उचित हुँदैन ।’
सारुकको डेढ महिनाअघि र सारुकका बुबाको शनिबार निधन भएको थियो । छोराको निधनबाट विक्षिप्त बन्नुभएका सानुको निधन भएको हो । सारुकको निधनपछि नम्रता विवादमा तानिँदै आएकी थिइन्। उनी सारुकसँग अफेयरमा रहेको र मृत्युअघि उनीहरूबीचको झगडा परेका जस्ता कुराहरू बाहिर आएका थिए । सारुकको निधनपछि नम्रताले सार्वजनिक रूपमा कुनै पनि टिप्पणी गरिनन् ।