पक्राउ परेका लिम्बूलगायतका घटनामा संलग्नलाई कारबाही गर्न एमालेको माग
नेकपा एमालेले हिजो अर्जुनधारामा भएको तोडफोडमा संलग्न भएको आरोपमा पक्राउ परेका विक्रम लिम्बू बीएण्डसी हस्पिटलका क्यान्टिनका सञ्चालक रहेको खुल्न आएकोले उचित छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ ।
‘कसको निर्देशनमा क–कसको संलग्नतामा यो आतङ्कपूर्ण घटना रचियो , यसको उचित छानबिन गरी दोषीमाथि कारबाही र तोडफोड भएका सवारीसाधनको उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग जोडदार माग गर्दछौँ’ नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
पहिचानवादीको नाममा अर्जुनधारामा भएको अराजक , अराजनीतिक र हिंसात्मक गतिविधिको भर्त्सना गर्दै विज्ञप्तिमा सरकारले यस्ता गतिविधिहरूमाथि तत्काल नियन्त्रण नगरे प्रतिवाद गर्ने चेतावनीसमेत दिइएको छ । त्यस्तै राष्ट्रिय युवा संघ झापाले अर्जुनधारामा भएको सवारीसाधन तोडफोडको घटनामा संलग्नहरूलाई कारबाही गर्न जोडदार माग गरेको छ । संगठनको प्रथम नगर अधिवेशनमा सहभागी नेता कार्यकर्ताहरूको दर्जनौँ सवारीमा तोडफोड भएपछि युवा संघले एक विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेको हो ।
अर्जुनधाराको प्रथम नगर अधिवेशनमा प्रमुख अतिथिको रुपमा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत र विशिष्ट अतिथिको रुपमा युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेबे सहभागी थिए । उक्त कार्यक्रम बिथोल्न पहिचानवादी र दुर्गा प्रसाईँका समर्थक सहभागी भएका थिए ।
पहिचानवादीका नाममा दुर्गा प्रसाईँका समर्थकहरूले सवारीमा तोडफोड गरेको युवा संघको ठहर छ । युवा संघले विज्ञप्तिमा भनेको छ, कानुनी राज्यको धज्जी उडाउँदै मनपरी अभिव्यक्ति दिने प्रसाईँले एमाले नेताहरु विरुद्ध भाडामा मान्छेको प्रयोग गरेको छ ।
गैरकानुनी , अराजक, लोकतन्त्र विरोधी गतिविधि गर्ने पहिचानवादी र दुर्गा प्रसाईँका सहभागी हुने सबै कार्यक्रमहरू बिथोल्ने युवा संघले घोषणासमेत गरेको छ । युवा संघका संयोजक फुर्वा लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत तोडफोडमा संलग्न फरार व्यक्तिहरूको खोजी गरी तत्काल कारबाही गर्न माग गरिएको छ ।