२०८३ जेष्ठ २४ गते , आईतबार

बास माग्दै चोरी गर्ने बुबा-छोरा पक्राउ

sajilo news
इलाम
२०८० पौष २७ गते , शुक्रबार
बास माग्दै चोरी गर्ने बुबा-छोरा पक्राउ

पूर्वका विभिन्न स्थानमा बास माग्दै चोरी गर्ने बुवा छोरालाई प्रहरीले इलामबाट पक्राउ गरेको छ। भारतीय आर्मी बताउँदै विभिन्न सम्बन्ध गाँसेर बास बस्ने र सोही घरबाट नगद, गरगहना र अन्य जिन्सी सामान चोरी गरेर फरार रहने गरेका भारत विहार फारबिसगञ्च अररिया पोखरी बस्ती वडा नम्बर–१५ घर बताउने वर्ष ३५ का सन्तोष थापा र उनकै छोरा बताउने वर्ष १० का आर्यन थापा पक्राउ परेका हुन्।

इलामको माईस्थित चिलिमकोट चिया बगानमा रहेका ती व्यक्तिहरू प्रति शङ्का लागेर सोधपुछ गर्दा विगत चोरी गर्ने हुलिया मिलेको आधारमा पक्राउ गरिएको लोदिया प्रहरी चौकी प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक कैलाश कुमार केसीले जानकारी दिए ।

उनीहरूको साथमा रहेको को ३८ प ११०४ नम्बरको पल्सर मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । सो मोटरसाइकल मोरङ उर्लाबारीबाट चोरी गरी उनी माई नगरपालिका इलाम तर्फ फरार रहेको सनाखत भएको छ। पक्राउ परेका बाबु छोरालाई बिहीबार इलाका प्रहरी कार्यालय उर्लाबारी पठाइएको जिल्ला प्रहरी कार्यालय इलामका डिएसपी प्रकाश जवेगूले जानकारी दिए । माई नगरपालिका भित्रकै विभिन्न स्थानमा चोरी गरेको उजुरीका आधारमा ती व्यक्तिको हुलिया मिलेकाले पक्राउ गरिएको थियो।

उनीहरूले गत मङ्सिर–६ गते माई–५ को कालिखोलामा ‘छोराको मित’ भन्दै दुई दिन वास बसेर नगद र सरसामान चोरी गरी बेपत्ता भएका थिए। त्यस्तै माई ४ को माया होटेलमा गत वर्ष बास बसी होटेलकै स्कुटर चोरी गरी गत बेपत्ता रहेको होटेल सञ्चालक माया गुरुङले जानकारी दिए।

यता गत मङ्सिर १४ गते सन्दकपुर सुलुबुङका ललित गुरुङको पल्सर मोटरसाइकल चोरी गरी सोही हुलिया मिल्ने व्यक्ति बेपत्ता रहेको मोटरसाइकल धनी ललितले जानकारी दिए । यी तीन वटै घटनाको सनाखत भएको डिएसपी जवेगूले जानकारी दिए ।

केही समय अघि देखि पूर्वका दमक, पाडाँजुङ्गी, शान्तिनगर, बाहुनडाँगी, चारआली लगायत स्थानमा समेत सोही हुलियाका व्यक्तिले चोरी गरेको सूचना सामाजिक सञ्जालमा आउने गरेको थियो। ठाउँ अनुसार कहिले दमक, कहिले धरान र कहिले इटहरी घर बताउने पक्राउ परेका सन्तोषका आर्यन नाम गरेका छोरा शारीरिक अपाङ्गता रहेका छन्।

प्रत्येक चोरीको घटनामा बुवा छोरा सँगै रहने गरेको पीडितहरूले बताउँदै आएका थिए । आर्यनको हातका आधा औँला नरहेको र दाहिने घुँडामुनि वरिपरि खाडलझैँ घेरा र दायाँ खुट्टाका औला नरहेको हुलिया रहेको छ ।

यसैबीच दक्षिणी इलामको माई नगरपालिकामा चोरी, लुटपाट र लागूपदार्थ नियन्त्रणमा पछिल्लो समय लोदिया प्रहरी चौकी दानावारिले ठुलो उपलब्धि प्राप्त गर्दै आएको छ। वरिष्ठ प्रहरी नायब निरीक्षक केसीले लोदिया प्रहरी चौकीको जिम्मेवारी लिए सँगै शान्ति सुरक्षामा थुप्रै उपलब्धि हासिल भएको स्थानीयले बताउँदै आएका छन।

सम्बन्धित समाचार