हल्दिबारी गाउँपालिकाद्वारा गायिका मेनुका पौडेललाई नगदसहित सम्मान
झापा । झापाको हल्दिबारी गाउँपालिकाले गायिका मेनुका पौडेललाई नगदसहित कदरपत्रले सम्मान गरेको छ । हल्दिबारी- ४ का स्थायी बासिन्दा गायिका पौडेल चर्चित भारतीय टेलिभिजन रियालिटी शो ‘इन्डियन आइडल’को प्रतिस्पर्धामा उत्कृष्ट १० बाट बाहिरिएपछि सोमबार गृह जिल्ला आएकी छिन् ।
गृह जिल्ला आएसँगै गायिका पौडेललाई गाउँपालिकाले नगद ४५ हजारसहित कदरपत्रले सम्मान गरेको हो । गाउँपालिकाका अध्यक्ष रवीन्द्रप्रसाद लिङदेन र उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले उनलाई कदरपत्र प्रदान गरेका थिए । सम्मान कार्यक्रममा बोल्दै गायिका पौडेलले इन्डियन आइडलको यात्रा टुङ्गिए पनि जीवनको साङ्गीतिक यात्रा भर्खर सुरु भएको बताइन ।
गाउँपालिकाले गरेको सम्मानले सङ्गीत क्षेत्रमा थप ऊर्जाले प्राप्त भएको बताइन् । आफ्नै ठाउँमा पाएको सम्मानले उनी खुसी थिइन् । कार्यक्रममा अध्यक्ष लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, ५ वटै वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कर्मचारीहरू, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।