२०८३ बैशाख ४ गते , शुक्रबार

कालो सुनले मूल्य पाएपछि ताप्लेजुङका किसान हर्षित

sajilo news
रासस
२०८० फाल्गुन १३ गते , आईतबार
कालो सुनले मूल्य पाएपछि ताप्लेजुङका किसान हर्षित

ताप्लेजुङ ।  कोलो सुनले परिचत अलैँचीको मूल्य बढेपछि यहाँका किसान उत्साही भएका छन्। गत वर्ष प्रतिमन २६ हजारदेखि ३२ हजारसम्म अलैँची बिक्री गरेका किसानले यसवर्ष प्रतिमन ८० हजारसम्ममा अलैँची बिक्री गरेका छन्। एक मनमा ४० केजी अलैँची हुन्छ।
    
अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले यस वर्ष अधिकांश अलैँची किसानले प्रतिमन ७० हजारदेखि ८० हजारसम्ममा बिक्री गरेको जानकारी दिए।

उनले भने, “सुरुआतमा प्रतिमन ६० हजारदेखि अलैँची बिक्री सुरु भएको थियो । दुई साता अघि ८० हजारसम्म पनि पुग्यो। अहिले प्रतिमन ७१ हजारमा अलैँची बिक्री भइरहेको छ।”

अन्तर्राष्ट्रिय बजारमा माग बढेकाले नेपाली अलैँचीको मूल्य बढेको फुङलिङ नगरपालिका–५ का अलैँची व्यवसायी दिनेश अधिकारीको भनाइ छ। अधिकारीका अनुसार यहाँका ८० प्रतिशत किसानले अलैँची बिक्री गरिसकेका छन्। 

अलैँचीको मूल्य पाँच वर्षयताकै राम्रो भएको उनको भनाइ छ। प्रत्येक वर्ष भदौदेखि मङ्सिरसम्म अलैँची टिप्न सुरु हुन्छ भने त्यसपछि बिक्री सुरु हुन्छ। ताप्लेजुङमा करिब चार हजार पाँच सय हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ भने प्रत्येक वर्ष दुई हजार पाँच सय मेट्रिक टनसम्म अलैँची उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र ताप्लेजुङले जनाएको छ। जिल्लाका ६० वडामा अलैँची खेती हुँदै आएको छ।

सम्बन्धित समाचार