इलाम-२ मा उपनिर्वाचन: रवीन्द्रको टिकट पक्का भएकै हो ?
इलाम । आउँदो वैशाख १५ गते प्रतिनिधि सभा र प्रदेश सभाको उपनिर्वाचन हुने भएसँगै इलाम २ मा चुनावी चहलपहल बढेको छ । नयाँ राजनीतिक समीकरणले उपनिर्वाचन थप गर्माएको छ । विशेषगरी नेपाली काँग्रेस र नेकपा एमालेले इलाम प्रतिनिधि सभा क्षेत्र न २ लाई प्रतिष्ठाको विषय बनाएका छन् । सोही अनुरूप आकाङ्क्षीहरूको दौडधुप बढेको छ । एमालेबाट रवीन्द्र सुवेदी, बुद्धिप्रसाद खनाल, डा.देवी क्षेत्री दुलाल, दिवङ्गत नेता सुवासचन्द्र नेम्बाङका छोरा सुहाङ, नरेन्द्रनाथ भट्टराई र रिपल राईले आफूलाई बलियो उम्मेदवारका रूपमा उभ्याएका छन् ।
नेपाली काँग्रेसबाट जिल्ला सभापति डम्बर खड्का २०७९ मा व्यहोरेको हारलाई जितमा परिणत गर्ने अभियानमा छन् । जिल्लामा काँग्रेसको संगठनभित्र बलियो पकड बनाएका भेषराज आचार्य यस पटक जसरी पनि टिकट लिने र काँग्रेसलाई विजयी गराउने अभियानमा रहेको दाबी गरिरहेका छन् । पूर्वराज्यमन्त्री केशव थापा र पूर्व सांसद नगेन्द्र कुमाल पनि काँग्रेसबाट टिकटको दौडमा छन् । वैकल्पिक दलका नेताहरु पनि चुनावी अभियानमा जुटिसकेका छन् । पहिचानवादीको तर्फबाट डकेन्द्रसिंह थेगिम उम्मेदवार बन्ने सम्भावना देखिएको छ । माओवादी केन्द्र परित्याग गरेका पत्रकार मिलन लिम्बु पनि इलाम २ को उम्मेदवार बन्ने दौडमा छन् । संसद्को चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि आन्तरिक रूपमा उम्मेदवार खोजिरहेको छ ।
त्यस्तै नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), मङ्गोल नेशनल अर्गनाइजेसन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय उन्मुक्ति पार्टी (नाउपा) लगायतका दलहरूले पनि आफ्नो उम्मेदवार उठाउने तयारीमा छन् ।
चर्चामा युवा नेता रवीन्द्र सुवेदी
धेरैको चाहानामा युवा नेता रवीन्द्र सुवेदीको नाम आउने गरेको छ । राजनीतिमा युवालाई प्राथमिकता दिनु पर्छ भन्दै गर्दा जिल्लामा नै रहेर विद्यार्थी नेता देखि पाटीको उपसचिव रहेका सुवेदीले टिकट पाए युवाको आकर्षकका कारण उनको चर्चा चलिरहेको पाइन्छ ।
को हुन रवीन्द्र ?
इलामको देउमाई नगरपालिका वडा नं ६ शान्तिडाँडामा २०४७ साल भदौ ९ गते बुबा तोम नाथ र आमा शारदा सुवेदीको कोखबाट जन्म लिएका रवीन्द्र सुवेदी विद्यार्थी उमेर देखिनै राजनीतिमा सक्रिय थिए । समाज शास्त्रमा स्नातकोत्तर र कानुनमा एल एल बि गरिसकेका उनी मिठो बोली अनि नरम स्वभावका भएकैले सबैका प्रिय पात्रका रुपमा स्थापित बनेका छन् । जो कोहीलाई समस्या पर्दा ज्यान दिएर लाग्ने उनी सामाजिक काम र विकृति विसङ्गतिका विरुद्ध दर्बिलो खम्बा बनेर उभिन्छन् ।
२०५८ सालमा साङरुम्बा माविमा अनेरास्ववियुको सदस्य हुँदै राजनीति थालेका सुवेदी अहिले सम्म कुनै पनि लाभका पदमा देखिँदैनन् । २०५९ सालमा साङरुम्बा माविको कोषाध्यक्ष हुँदै २०६२ मा अध्यक्ष भएका सुवेदी २०६२÷६३ को आन्दोलनमा गाउँमा पुल्ठे जुलुस लगाउँदै राज संस्थाको विरुद्ध उत्रिएका एक सशक्त पात्र हुन । २०६३ मा एमालेको पाटी सदस्यता पाएका सुवेदीले मरव क्याम्पस कमिटी सचिवालय सदस्य बनेका थिए । क्याम्पस पढ्दा विद्यार्थी राजनीतिमा सक्रिय भएर काम गरिरहँदा ०६४ मा क्याम्पस कमिटी सचिव, ०६५ मा उपाध्यक्ष हुँदै अनेरास्ववियु जिल्ला कमिटी सदस्य भए । ०६५ मा नै क्याम्पस सम्मेलन आयोजक समिति संयोजक बनेका सुवेदी नेतृत्व दाई भूमिकालाई सफल बनाउँदै अब्बल बन्न पुगे ।
अनेरास्ववियु जिल्ला कमिटी सहसचिव, उपाध्यक्ष हुँर्दै अध्यक्ष बनेका सुवेदी २०७१ सालमा अनेरास्ववियु केन्द्रीय सदस्य भएका थिए । ०७३ मा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य बनेका थिए भने ०७५ मा अनेराश्वविय थाई सचिवालय सदस्य बने । ०७८ मा पार्टीको कार्यालय सचिवको जिम्मेवारी सम्हालेका उनी जिल्ला उपसचिव बनेर काम गरिरहेका छन् । विद्यालयबाट राजनीति थालेका सुवेदी गाउँ कमिटी, क्याम्पस कमिटी, सचिवालय सदस्य, अध्यक्ष हुँदै अनेरास्ववियु केन्द्रीय सदस्य बनिसकेका उनी युवा नेतामा हुनुपर्ने गुणको क्षमता राख्ने गर्दछन् । राजनीतिक खुड्किलोमा ताते खेल्दै विभिन्न आन्दोलनको नेतृत्व गरेका सुवेदी कहिले महँगीको विरुद्ध पुल्ठे जुलुसमा हुन्थे त कहिले सिमानामा राष्ट्रिय झन्डा बोकेर सीमाको रक्षाका लागि आन्दोलनमा उत्रिन्थे । नेपाल भारत सीमाको सन्दकपुर डाँडामा एसएसविले नेपाल पट्टी हस्तक्षेप गर्दै गर्दा उनकै नेतृत्वमा विद्यार्थीहरूले राष्ट्रिय झन्डा फहराएर विदेशी हस्तक्षेपको विरुद्ध उभिएका थिए ।
उनले नेतृत्वमा गरेको खबरदारी कार्यकै कारण भारतले आफ्नो भूमि भन्दै आएको क्षेत्र बाट ब्याक गराई नेपालको भूमि कायम गराउन समेत सफल भएका थिए । यस्तै लिपुलेक र कालापानीको भूभाग भारतले आफ्नो भन्दै गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रगतको चिठी लेखेर पठाउन समेत पछि परेनन् । भूकम्पमा चामल, पानी र बाँस बोकेर उद्धारका लागि विद्यार्थी लिएर जाँदै गर्दा बर्खाको समयमा तराई डुबाऊ हुँदा पनि राहत सङ्कलन गर्ने र अस्थायी टहरा निर्माणमा समेत सक्रिय रहन्थे । शिक्षा, स्वास्थ्य देखि खेलकुद लगायतका क्रियाकलापमा समेत सक्रिय रहने सुवेदीले शैक्षिक सुधारका लागि मरव क्याम्पसमा हप्ता दिन सम्मको बहसका कार्यक्रम समेत चलाएका थिए । गाउँले जीवन र किसानको परिवारबाट त्यही जीवनलाई अङ्गाल्दै राजनीति गरिरहेका उनी अहिले पनि घाँस दाउरा र खेतीपाती बाट अलग्ग भएका छैनन् ।
उनी राजनीतिले जनताका मुद्दा बोक्नु पर्ने भन्दै जनताले बनाएका नेता जनताको परिवेश भन्दा फरक हुन नहुने बताउँछन् । कक्षा एक देखि १० सम्म कक्षामा प्रथम भएका सुवेदी सिएलमा क्याम्पसको स्टामिनर भएका थिए । पढाइको सिलसिलामा इलाम आएपछि इलामको रेडियो इलाम एफएममा काम गरेका उनी पत्रकारिताको बखत एनजिओ र आईएनजिओमा अवसर पाउँदा समेत राजनीति गर्नकै लागि अवसर छोडेर बसे । जिल्लामा सक्रिय भएर काम गरिरहँदा आफूले गरेको कामकै कारण अमेरिका जाने सम्मका अवसर आउँदा पनि उनी राजनीतिले छोड्न सकेनन् । उनलाई राजनीतिक नियुक्तिको सम्म ठाउँ पाउने हुँदा पनि उनले कुनै लाभको पदमा आस नगरी निष्ठाको राजनीति गरिरहेका छन । लामो समय राजनीतिमा बाहेक कतै समय व्यतीत नगरेका सुवेदी इलामका युवाको माझ अहिले सर्वसम्मत झैँ चर्चामा आउन थालेका छन् । तर पार्टीबाट टिकट भने पाउँछन् या पाउदैनन भन्ने यकिन छैन तर युवाको चाहानामा उनैको टिकट आइसकेको छ ।