झापामा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियानलाई अन्तिम बनाऔँ
हात्तीपाईले (फाइलेरिया)रोग के हो र यो कसरी लाग्दछ ?
हात्तीपाईले (फाईलेरिया) रोग मानिसलाई शारीरिक रुपमा अशक्त, असमर्थ तथा अपाङ्गता गराउने सरुवा रोग हो।यो एक प्रकारको मसिनो धागो आकारको जुकाजस्तै परजीवीको संक्रमणले गर्दा हुन्छ।यो रोग क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेको टोकाईबाट सार्दछ ।हात्तीपाईले गराउने परजीवी Wuchereria Bancrofti, Brugia Malayi , Brugia Timori गरी तीन प्रजातिका हुन्छन् तर नेपालमा Wuchereria Bancrofti प्रजाति मात्र पाईएको छ।
हात्तीपाईले रोगका लक्षण तथा चिन्हहरुः
यस रोगका लक्षण तथा चिन्हहरु प्रायः लामो समयपछि मात्र देखा पर्दछ ।मानिसको शरीरमा यस रोगको परजीवी प्रबेश गरेको ८ देखि १६ महिनामा मात्र यस रोगको लक्षण देखिन्छ ।शुरुका अवस्था (Acute Manifestation) मा ज्वरो आउने, जाडो हुने, शरीरमा कम्पन आउने, लिम्फ नलीहरु सुन्निने, रातो हुने, हात गोडामा नीला काला धर्साहरु देखिने, शरीरमा भएका गिर्खाहरुको आकार बढ्ने, दुख्ने, पुरुषको अण्डकोष वरपरका नसाहरु सुन्निने, दुख्ने, अण्डकोष सुन्निने, दुख्ने जस्ता लक्षण चिन्हहरु देखिन्छ ।शुरुका अवस्थामा औषधि उपचार गरेमा यो रोग पूर्ण रुपमा निको हुन्छ ।तर समयमा उपचार नपाएमा संक्रमण भएको १०–१५ वर्षमा यस रोगको दीर्घकालीन असरहरु देखिन्छ जस्तैः खुट्टा फुलेर हात्तीको जस्तो खुट्टा हुने, हात फुल्ने, पुरुषमा हाईड्रोसिल हुने, महिलाको स्तन र योनाङ्ग सुन्निने आदि ।यी समस्याहरु पूर्ण रुपमा स्थायी प्रकृतिको हुन्छ अर्थात कहिल्यै निको नहुने प्रकृतिको हुन्छ र यसले मानिसलाई कुरुप, अशक्त र अपाङ्गता गराउँदछ। ।त्यसैले नेपाल सरकारले कुनै पनि नेपाली नागरिक यस रोगको शिकार भई अशक्त, अपाङ्ग र कुरुप हुनु नपरोस् भन्ने उद्धेश्यले सन् २००३ देखि हरेक वर्ष हात्तीपाईले प्रभावित जिल्लाहरुमा यस रोगबिरुद्धको आम औषधि खुवाउने ( Mass Drug Administration–MDA) अभियान संचालन गरिरहेको छ।
हात्तीपाईले रोगबिरुद्धको आम औषधि खुवाउने अभियान (MDA) कस्तो अभियान हो?
नेपाल सरकारले सन् २०२० सम्ममा हात्तीपाईले रोगलाई निवारण गर्ने उद्धेश्यले सन् २००३ मा पर्सा जिल्लाबाट हात्तीपाईले रोगबिरुद्धको औषधि खुवाउने अभियान शुरुवात गरेको थियो।जुन पछि गएर सबै प्रभावित जिल्ला अर्थात् ६४ जिल्लामा यस अभियानलाई बिस्तार गरियो।सन् २०२० मा हात्तीपाईले निवारण संभव नभएपछि दिगो विकास लक्ष्यसँग मेल खाने गरी हाल सन् २०३० सम्ममा यस रोगलाई निवारण गर्ने राष्ट्रिय लक्ष्य तय गरिएको छ।
यो अभियान कहाँ कहाँ संचालन छ त?
नेपालसहित विश्वका ७२ वटा देशहरु यस रोगको प्रभावित देशहरु हुन्।सन् २०२३ सम्ममा ७२ प्रभावित देशहरुमध्ये अफ्रिका महादेशमा पर्ने गेबोन भन्ने देशले मात्र यो अभियान संचालन गर्न सकेको छैन भने ३३ वटा देशहरुमा यो अभियान सम्पन्न भईसकेका छन् र ३८ वटा देशहरुमा यो अभियान चलिरहेको छ।
नेपालको ७७ जिल्लाहरुमध्ये १३ वटा हिमाली र उच्च पहाडी जिल्लाहरुमा यस रोगको प्रकोप पाईएको छैन । त्यसैले ती १३ जिल्लाहरुमा यस रोगको औषधि खुवाउनु परेन।सन् २०२३ सम्ममा ६४ प्रभावित जिल्लाहरुमध्ये ५७ जिल्लाहरुमा अभियान सम्पन्न भई औषधि खुवाउने अभियान बन्द गरिएको छ भने झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, रसुवा र कपिलबस्तु गरी ७ जिल्लाहरुमा भने यही बैशाख १६ गतेदेखि ३० गतेसम्म आम औषधि खुवाउने अभियान संचालन हुँदैछ।
झापा जिल्लामा यो अभियानको अवस्थाः
सन् २०१२ देखि नै झापा जिल्लामा हात्तीपाईले रोगबिरुद्धको आम औषधि खुवाउने अभियान शुरुवात भएको हो।सामान्यतया सबै नागरिकहरुले यो अभियानमा हात्तीपाईलेको औषधि खाएको भए ६ वर्षसम्म संचालन भएर यो अभियान स्थगित हुनु पर्ने थियो तर विविध कारणले सबै नागरिकले यस रोगको औषधि नखाएका कारण १२ वर्ष अभियान संचालन भईसकेको छ भने यस वर्ष संचालन हुँदा १३ वर्षसम्म हुनेछ।सबै नागरिकहरुले औषधि खाएमा यस वर्ष झापा जिल्लाको लागि यो अभियान अन्तिम बनाउने प्रयासमा छौं।
झापा जिल्लामा किन तेह्र वर्ष सम्म यो अभियान संचालन गर्नु पर्यो त?
जुनसुकै कारणहरुले गर्दा भए पनि आम नागरिकले यस रोगको औषधि नखाएकै कारण पटक पटकको परीक्षणमा झापा जिल्लामा यो रोग जनस्वास्थ्य समस्याको रुपमा देखिएकाले तेह्र वर्षसम्म पनि यो अभियान संचालन गर्नु पर्यो।हालसम्म झापा जिल्लामा यो अभियान सफल नहुनुका केही कारण वा आम नागरिकले औषधि नखानुका केही कारण तथा वास्तविकताहरु यहाँ प्रस्तुत गरिएको छः
कारण १. औषधि खाँदा असर (Side Effect) गर्छ भन्ने डर
वास्तविकता १. हामीले खाने भात र सिटामोलदेखि लिएर हरेक चिजको केही न केही प्रति असर हुन्छ।तर जसको शरीरमा यो रोगको परजीवी छ, उसले यो औषधि खाँदा परजीवीहरु मर्दछ र केही सामान्य असरहरु देखिन सक्छ ।जस्तैः टाउको दुख्ने, चक्कर लाग्ने, पेट दुख्ने, पखाला लाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने आदि। यसको अर्थ औषधि खाएपछि असरहरु देखिन थालेमा औषधिले हात्तीपाईलेको परजीवी मर्न थाल्यो भन्ने बुझ्नुपर्दछ।तर, यस्ता सामान्य प्रति असरहरु आफैं हराएर जान्छ।गम्भीर प्रकृतिका प्रति असरहरु बिरलै मात्र हुने गरेको छ भने हालसम्म यो औषधि खाएर मानिसको मृत्यु भएको प्रमाणित भएको छैन।बरु मानिस बिरामी हुने र मृत्यु हुने क्रम त हात्तीपाईले रोगको औषधि नखुवाएको दिन पनि चलिरहेकै हुन्छ।
कारण २. यो औषधि WHO तथा बिकसित राष्ट्रले अनुसन्धानका लागि ल्याएको हो।
वास्तविकता २. मैले माथि उल्लेख गरिसकें कि यो औषधि नेपालमा भन्दा पहिले अन्य देशहरुमा प्रयोग भईसकेको हो।यस अभियानमा प्रयोग हुने Ivermectin र Albendazole भन्ने औषधि १९७५ मा र DEC नामको औषधि १९४७ मा पत्ता लागेको हो र वर्षौं पहिलेदेखि सरकारी स्वास्थ्य संस्थाहरुबाट अन्य जुकाको उपचारका लागि, लुतोको उपचारका लागि र जुम्राको उपचारका लागि पनि यी औषधिहरु निःशुल्क बितरण भईरहेका छन्।विश्वका ७१ वटा प्रभावित देशहरुमा यी औषधिहरु बितरण हुँदै आएका छन्।त्यसैले यी औषधिहरु अनुसन्धानका लागि खुवाईएका होईनन्।फेरि अनुसन्धानका लागि औषधि खुवाउँदा पहिले नै हरेक ब्यक्तिलाई जानकारी गराएर सम्बन्धित ब्यक्तिको अनुमतिपश्चात् मात्र खुवाईन्छ र यो छोटो समयका लागि मात्र हुन्छ।अर्थात अनुसन्धान १३ वर्षसम्म हुँदैन।
कारण ३. मलाई रोग लागेको छैन त्यसैले औषधि खानु पर्दैन।
वास्तविकता३. हात्तीपाईले रोगको लक्षण नदेखिए पनि संक्रमण हुन सक्छ अर्थात् लामो समयसम्म लक्षण चिन्ह नदेखाईकन संक्रमण अरुलाई सारिरहन्छ।यस रोगको लक्षण तथा असर देखिनका लागि १०–१५ वर्षसम्म लाग्दछ।यो रोग लागिसकेपछि त निको नै हुँदैन।त्यसैले रोग लाग्नुभन्दा पहिले नै औषधि खाएमा रोग लाग्न पाउँदैन।
कारण ४. धार्मिक तथा साँस्कृतिक परम्परा
वास्तविकता ४. मलाई जानकारी भएसम्म कुनै पनि धर्मशास्त्रले रोगी हुनु पर्दछ भन्ने उल्लेख भएको पाईदैन।अर्थात हरेक धर्म तथा सँस्कृतिले निरोगी हुनु पर्दछ नै भन्दछ।त्यसैले यो औषधि हरेक धर्म तथा सँस्कृतिमा आस्था राख्ने मानिसहरुले खान हुन्छ र खानु पर्दछ।
कारण ५. हामी सफा सुग्घर ठाउँमा बस्ने र हुने खाने मानिसलाई यो रोगको जोखिम छैन।
वास्तविकता ५. लामखुट्टे र रोगले धनी–गरीब, शिक्षित–अशिक्षित कोही चिन्दैन।जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने सबै जना उत्तिकै जोखिममा हुन्छन्।“हामी सबैले यस वर्ष औषधि खाएमा हामी र हाम्रा सन्ततिले भविष्यमा कहिल्यै यो औषधि खानु पर्दैन ।”
(लेखक श्रेष्ठ स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक हुन् ।)