२०८३ बैशाख ४ गते , शुक्रबार

गाइने किराको संख्या घट्दा किसानलाई समस्या

sajilo news
पत्रपत्रिका
२०८१ बैशाख २१ गते , शुक्रबार
गाइने किराको संख्या घट्दा किसानलाई समस्या

काठमाडौं  ।  गाइने किराको सङ्ख्यामा कमी आउन थालेपछि कृषि उत्पादनमा त्यसको प्रत्यक्ष असर देखिन थालेको छ ।शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ, गाइने किराको सङ्ख्या घट्दा पतेरो, गवारो र लाइको उल्लेख्य वृद्धि भई मुख्य बाली धान, मकै र गहुँको उत्पादन घट्न थालेको छ। गाइने किराको मुख्य आहारा कृषिकर्मलाई असर गर्ने पतेरो, गवारो हुन् । 

सघन धान खेतीमा लामो समयदेखि अनुसन्धानरत कृषि प्रचार अधिकृत कृष्ण धितालले गाइने किराको सङ्ख्या घट्दा त्यसको मुख्य आहार बालीलाई हानिकारक मानिएका किराको सङ्ख्या बढिरहेको बताए। 

पतेरोले मात्रै धान उत्पादनमा १० प्रतिशतसम्म ह्रास ल्याउने धितालले दाबी गरे। नेपालमा हाल ५६ लाख मेट्रिक टन धान उत्पादन हुने र गाइने किरा जस्ता मित्रजीवको सङ्ख्यामा कमी आउँदा त्यसले १० प्रतिशतसम्म धान उत्पादन घटाएको उने बताए। 

गाइने किराबारे त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरिरहेका मनोज शर्माले पानीका स्रोत र मुहान प्रदूषित हुँदा गाइने किराको अस्तित्व संकटमा परेको दाबी गरे। गाइने किराको बासस्थान सफा पानी भएकाले ती किराको सङ्ख्यामा कमी आउनु भनेको पानीमा प्रदूषण बढेको पुष्टि गराएको शर्माले जानकारी दिए। 

सफा पानीलाई खेतीमा सिँचाइ गर्दा त्यसले स्वस्थ उत्पादन दिने बताउँदै फोहोर पानी सिँचाइबाट स्वस्थ उत्पादन हुन नसक्ने र त्यसका कारणले उत्पादनमा समेत कमी आइरहेको उनले बताए। 

नेपालमा १८२ किसिमका गाइने किरा पाइने शर्माले बताए ।पानीमा बढ्दो प्रदूषण र सिमसार क्षेत्रको अतिक्रमणका कारण संसारमै गाइने किरा घट्दो क्रममा रहेकाले त्यसको संरक्षणमा जनचेतना जगाउँदै गाइने किरा सङ्ग्रहालय बनाउन सरकारसँग माग गरे।

सम्बन्धित समाचार