२०८३ बैशाख ४ गते , शुक्रबार

अज्ञात समूहले माचमा आगो लगाएपछि बेलबारीका किसान आतङ्कित

sajilo news
रासस
२०८१ जेष्ठ ८ गते , मंगलबार
अज्ञात समूहले माचमा आगो लगाएपछि बेलबारीका किसान आतङ्कित

विराटनगर । अज्ञात समूहले केही दिनदेखि बस्तीमा रहेका परालका माचमा आगो लगाउन थालेपछि मोरङ बेलबारीका स्थानीय किसान आतङ्कित बनेका छन्। गत आइतबार मध्यराति एकै गाउँका पाँच स्थानमा रहेका परालको माचमा आगो लगाइएको थियो। त्यसअघि वैशाख २४ गते राति बेलबारी-९ पोखरियाका रमेश कार्कीको परालको माचमा आगो लागेको थियो। स्थानीय सुनिल कार्कीले अन्जानवश कसैले फालेको चुरोटको ठुटोबाट आगलागी भएको अनुमान गरे पनि त्यसपछि अरू ठाउँमा पनि आगलागी हुन थालेपछि जानीजानी आगो लगाएको निष्कर्षमा आफूहरू पुगेको बताए।

‘बाटो नजिकै माच रहेको हुनाले कसैले फालेको चुरोटको ठुटोबाट आगलागी भएको हुनसक्ने अनुमान थियो तर त्यसपछि गाउँका अन्य व्यक्तिका माचमा पनि निरन्तर आगलागी हुन थालेपछि कसैले जानीजानी आगो लगाएको अनुमान गरेका छौँ’, कार्कीले भने। बेलबारी-९ का वडाध्यक्ष शालिग्राम बस्नेतले कार्कीको माचमा आगलागी भएकै दिन शम्भु आचार्यको करिब ६० बोट केरा र काली मावि छेउमा रहेको टङ्क पौडेलको बारीबाट मकै काटिएकाले कुनै समूहले जानीजानी यस्तो काम गरिरहेको हुनसक्ने बताए।

फेरि गत शनिबार राति बेलबारी-९ विष्ट चोकमा लोकबहादुर खड्काको परालको माच र बेलबारी-११ का गणेश पराजुलीको गोठमा आगो लागेको प्रहरीचौकी डाँगीहाटका प्रमुख टङ्क दाहालले जानकारी दिए। आगलागीबाट पराजुलीका गाईभैँसी र बाख्रा जलेर क्षति पुगेको उनले बताए। अर्को दिन आइतबार राति ११:४५ बजे देखि १२:३० बजेभित्र करिब पाँच सय मिटरभित्रका पाँच परालका माचमा आगो लगाइएकाले अनुसन्धान भइरहेको दाहालले बताए।

वडाध्यक्ष बस्नेतले दिएको जानकारीअनुसार पोखरियामा आइतबार राति कालीबहादुर न्यौपाने, नरबहादुर अधिकारी, युवराज बस्नेत, ओमनाथ खड्का, विष्णुमाया बराल र गत साता नलबारीस्थित खेमबहादुर पाण्डे र मानबहादुर पाण्डेको परालको माचमा आगो लागेको थियो।

आगलागीका घटना नरोकिएपछि टोल विकास समितिमार्फत गस्ती गर्न थालिएको र शङ्कास्पद व्यक्ति भेटिए प्रहरीमा खबर गरिने अध्यक्ष बस्नेतले बताए। इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक तेजबहादुर दाहालले पनि घटनाको अनुसन्धान भइरहेको र स्थानीयसँगको सहकार्यमा प्रहरीले गस्ती शुरु गरेको जानकारी दिए।

सम्बन्धित समाचार