धान दिवस : भद्रपुरमा हर्षोल्लासका साथ सामूहिक रोपाइँ
भद्रपुर । झापाको भद्रपुरमा सामूहिक रुपमा धान रोपेर २१ औं धान दिवस तथा रोपाइँ महोत्सव गरिएको छ । जलवायुमैत्री कृषि,धान उत्पादनमा वृद्धि भन्ने मूल नाराका साथ भद्रपुर नगरपालिकाका कृषि शाखाको आर्थिक सहयोगमा साना किसान कृषि सहकारी संस्था भद्रपुरले भद्रपुर-७ स्थित शान्ति चौक दक्षिणमा सामूहिक रोपाइँ गरिएको हो ।
साना किसान सहकारी संस्थाकी अध्यक्ष देवीमाया अधिकारीको अध्यक्षता तथा कृषि शाखा भद्रपुरको संयोजनमा भएको कार्यक्रममा नगर प्रमुख गणेश पोखरेल, भद्रपुर १ का वडाध्यक्ष रामप्रसाद अधिकारी, २ का वडाध्यक्ष रामबहादुर कँडेल, भद्रपुर ६ का वडाध्यक्ष रतिया राजवंशी, ७ का वडाध्यक्ष अभिषेक ढुङ्गाना, भद्रपुर ९ का वडाध्यक्ष रामप्रसाद दाहाललगायतका जनप्रतिनिधिहरूले धान रोप्दै सामूहिक धान रोपाइँ महोत्सव मनाएका थिए । सोही अवसर पारेर स्थानीय कृषक, बालबालिका, जनप्रतिनिधिलाई लक्षित गरी रमाइलोका लागि हिले दौडसमेत सम्पन्न गरिएको थियो ।
उद्घाटन कार्यक्रममा नगर प्रमुख गणेश पोखरेलले व्यावसायिक कृषि आजको आवश्यकता भए पनि अनुदान सदुपयोग भए नभएको लेखाजोखा गर्ने बेला आएको बताउँदै जलवायु परिवर्तनको असर कृषिमा पर्न थालेकोमा चिन्ता व्यक्त गरे । कार्यक्रममा कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्ट, भद्रपुर २ का वडाध्यक्ष रामबहादुर कँडेल, ७ का वडाध्यक्ष अभिषेक ढुङ्गानालगायतले मन्तव्य राख्दै कृषक राज्यको पहिलो सम्मानित व्यक्ति भएको भन्दै रसायन र विषादिमुक्त जीवन बनाउन कृषकको उल्लेख्य योगदान रहेको धारणा राखेका थिए ।