'रोङ गट ट्यालेन्ट' मा छानिए १५ 'फाइनलिस्ट'
रोङ । रोङ गाउँपालिकाले दूरदराजमा रहेका प्रतिभाको खोजी गर्न आयोजना गरेको प्रतिभा खोज कार्यक्रम 'रोङ गट ट्यालेन्ट'मा १५ जना फाइनलमा प्रवेश गरेका छन् । गायन, नृत्य र कविता विधामा पाँच/पाँच गरी १५ जनाले फाइनलको यात्रा तय गरेका हुन् । तीनवटै विधामा ३२१ प्रतियोगीलाई पछि पर्दै उनीहरू फाइनलमा प्रवेश गरेका हुन् ।
फाइनलमा प्रवेश गर्नेहरूमा कविता विधामा सामुएल गजमेर , अनीश राई , तिलकराज कोइराला , तेजकुमार चौलागाईं र सुस्मा राई फाइनलमा प्रवेश गरेको रोङ प्रतिभा खोज निर्देशक समितिले जनाएको छ । यस्तै, गायन विधातर्फ सौगात सुब्बा , हर्कमान सुन्दास , एलिना राई, अर्जुन खड्का र देवधन राई फाइनलका लागि छानिएका छन् । नृत्य विधामा निरुता राई , प्रज्ञा भुजेल , आरध्य अर्याल, सोनु लावती र सरस्वती मुखिया फाइनलमा प्रवेश गरेको समितिले जनाएको छ ।
'रोङ गट ट्यालेन्ट' को फाइनल प्रतिस्पर्धा आगामी शनिबार हुने रोङ गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बोले जानकारी दिए । फाइनल रोङ-३ स्थित पाम्कोल सहकारी भवनमा आयोजना गरिने उनले बताए । प्रत्येक विधामा विजेताले नगद पुरस्कारसहित विभिन्न आकर्षक उपहारहरू प्राप्त गर्ने उनले बताए । 'यस वर्षको प्रतिस्पर्धामा रोङ गाउँपालिकाका विभिन्न प्रतिभावान् कलाकारहरूले भाग लिएका छन्। फाइनलमा ५ जना उत्कृष्ट प्रतिभाको तीन वटा विधा प्रतियोगीहरूबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ,' अध्यक्ष स्याङ्बोले भने । आयोजक समितिले फाइनल प्रतिस्पर्धामा उपस्थित भएर कलाकारको हौसला बढाउन सबैलाई आह्वान गरेको छ।
कार्यक्रमको प्रत्यक्ष प्रसारण पनि विभिन्न टेलिभिजन च्यानल र अनलाइन प्लेटफर्महरूबाट गरिने आयोजकले जनाएको छ । रोङ प्रतिभा खोजीले गाउँमा लुकेर रहेको धेरै प्रतिभाको पहिचान गरी उजागर गर्न सफल भएको गाउँपालिका अध्यक्ष स्याङ्बोले बताए । 'सम्पूर्ण प्रतियोगी कलाकारलाई उच्च मनोबलका साथ निरन्तर मिहिनेत गर्न आग्रह गर्दछु । साथमा स्थानीय सरकार हुनेछ,' उनले भने ।