२०८३ बैशाख ४ गते , शुक्रबार

हल्दिबारीका कृषक र लघु उद्यमीलाई सामग्री वितरण

sajilo news
झापा
२०८१ श्रावण १ गते , मंगलबार
हल्दिबारीका कृषक र लघु उद्यमीलाई सामग्री वितरण

झापाको हल्दिबारी गाउँपालिकाले यहाँका कृषक तथा उद्यमी महिलाहरूलाई सामग्री प्रदान गरेको छ । गाउँपालिकाले आज एक कार्यक्रमका बीच पाँच वटै वडाबाट छनोट भएका २०१ जना कृषकलाई विद्युतीय स्प्रे र १७५ जना कृषकलाई मकै रोप्ने आधुनिक मेसिन हस्तान्तरण गरिएको छ भने १८ जना महिला उद्यमीलाई मागअनुसार सिलाई मेसिन, पिको मेसिन, इन्टरलक मेसिन, टेबल–सोकेस, इन्भर्टर–ब्याट्री, हेयर ड्रायर क्लिमिङ, स्ट्रेट आइरन, दुई वटा उद्यमी समूहलाई इलेक्ट्रिक सिलाई मेसिन र टेबल सोकेस प्रदान गरिएको हो ।

चालु आर्थिक वर्ष २०८०/०८१ को कार्यक्रमबाट लागत सहभागितामा लगभग १५ लाख मूल्य बराबरका सामग्री वितरण गरिएको थियो । गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङदेनको अध्यक्षतामा आयोजित सामग्री हस्तान्तरण समारोहमा प्रमुख अतिथि झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य एवम् पूर्व उपप्रधान, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङदेन, गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर (महेन्द्र) वन, राप्रपा झापा अध्यक्ष केशवप्रसाद ओझालगायतले कृषक तथा उद्यमीहरूलाई सामग्री हस्तान्तरण गरेका थिए ।

गाउँपालिकाको प्रशासनतर्फका राजन न्यौपानेले सञ्चालन गरेको समारोहमा प्रमुख अतिथि लिङदेनले प्राप्त गरेका सामग्रीको भरपुर उपयोग गरी उत्पादकत्व बढाउन एवम् उद्यमशीलताको विकास गर्न कृषक तथा उद्यमीहरूलाई आग्रह गरे ।

नेपाललाई कृषिप्रधान देश भनिए पनि बर्सेनि अरबौँ रुपैयाँको खाद्यान्न, तरकारी तथा फलफूल आयात भइरहेको भन्दै पूर्व मन्त्री लिङदेनले प्राप्त सामग्री उपयोग गर्दै कम्तीमा आत्मनिर्भर बन्न पनि किसानलाई आग्रह गरे ।

गाउँपालिका अध्यक्ष लिङदेनले विगतमा शतप्रतिशत अनुदानमा सामग्रीहरू वितरण गरिएकोमा त्यसबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको जनाउँदै यस पटक कृषकले अपनत्व ग्रहण गरुन् र सामग्रीको पूर्ण सदुपयोग होस् भन्ने अभिप्रायले लागत सहभागितामा सामग्री हस्तान्तरण गरिएको बताए ।

सम्बन्धित समाचार