जापानमा बढ्यो अर्गेलीको माग, इलाममा खेती बिस्तार
जापानको मुद्रा बनाउन प्रयोग हुने कच्चापदार्थ अर्गेली खेतीमा किसानको आकर्षण बढेको छ । नेपाली कागज जापान निर्यात बढेपछि इलाममा अर्गेली खेती बिस्तारमा प्रदेश सरकारको लगानी पनि बढेको छ ।
लेकाली क्षेत्रका डाँडापाखामा अर्गेली खेती हुन्छ । नेपाली कागज बनाउन प्रयोग हुने अर्गेलीको माग जापानमा बढेपछि खेती बिस्तार हुन थालेको छ । अर्गेली जापान निर्यातले गाउँमा प्रशोधन उद्योग पनि खुल्ने क्रम बढेको छ । लोप हुन लागेको अर्गेलीको व्यावसायिक खेती विस्तार भएपछि अहिले इलामा प्रशोधन समेत हुन थालेको छ ।
जापनिज यान बनाउन प्रयोग हुने अर्गेलीको निर्यात बढेपछि किसानले पाखाबारीमा खेती बिस्तार गर्न थालेका छन् । अर्गेली रोपिएको ४ वर्षमा आम्दानी लिन सकिन्छ । एक पटक रोपेपछि पुनः रोपण गर्नु नपर्ने भएकाले किसानले खाध्यबाली नहुने क्षेत्रमा अर्गेली खेती बिस्तार गर्दै आएको सन्दकपुर २ का अमृत राईले बताए । चिसो मौसम र हावापानी भएका क्षेत्रको कान्ला र पाखो बारीमा अर्गेली खेती बिस्तार हुँदै आएको छ ।
अर्गेली रोपिएको चार वर्षपछि प्रशोधन गर्न काटिन्छ र सोही बोटबाट पुनः पलाउने गर्छ । लेकाली क्षेत्रमा गाई वस्तुको सोतर ओछ्याउन प्रयोग हुने अर्गेली जापान निर्यात बढेपछि प्रदेश सरकारले पनि लगानी सुरु गरेको छ । कोशी प्रदेश सरकारको डिभिजन वन कार्यालय इलामले अर्गेली खेती बिस्तारमा अनुदान समेत प्रदान गर्दै आएको डिभिजन प्रमुख दान बहादुर श्रेष्ठले बताए ।
इलाम बाट वार्षिक १ लाख किलो प्रशोधित अर्गेली जापान निर्यात हुने गरेको छ । अर्गेली प्रशोधनका लागि हाते कागज उद्योग गाउँमा स्थापना भएपछि ग्रामीण क्षेत्रमा रोजगारीका अवसर पनि थपिएका छन् ।