चलचित्र ‘बम बहादुर’को भारतको दार्जिलिङमा प्रिमियर
चलचित्र ‘बम बहादुर’को भारतको दार्जिलिङमा प्रिमियर गरिएको छ । सञ्जीव सार्कीले निर्माण गरेको र जोन राईले निर्देशन गरेको यस चलचित्रको ओख्ली ढिकी प्रोडक्सनले दार्जिलिङको गोर्खा रंगमञ्च भवनमा प्रिमियर गरिएको हो ।सो प्रिमियरमा चलचित्र निर्माणमा उनीहरूको परिश्रम र समर्पणको कदर गर्दै कलाकार र चलचित्रका टिममा रहेका सदस्यलाई सम्मानसमेत गरिएको थियो । अन्य चलचित्रको छायाङ्कनमा व्यस्त रहेका कारण प्रमुख अभिनेता सौगात मल्ल भने प्रिमियरमा उपस्थित भएन ।
अनिशा रसाइली, अजय प्रधान, शान्तिला तामाङ, बाल कलाकार वशिष्ट कार्की, प्रभात पाख्रिन, बादल क्षेत्रीलगायतको प्रिमियरमा उपस्थिति थियो । नेपाल र भारतमा पुस ५ गतेदेखि सिनेमा घरमा आउने तयारीमा रहेको यो चलचित्रले भारतका नेपाली, विशेषगरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसावास गर्ने नेपाली समुदायको संघर्षका पलहरूमा आधारित सन्देशमूलक र ऐतिहासिक सङ्घर्षलाई चित्रण गरेको छ । bचलचित्रले सन १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्याण्ड आन्दोलनको पृष्ठभूमिमा मानव जीवनका आरोह-अवरोहलाई पर्दामा प्रस्तुत गरेको छ ।