भद्रपुरमा पशु शिविर, ३ सयभन्दा बढी पशुको स्वास्थ्य जाँच
भद्रपुरमा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । नगर पशु सेवा शाखाले २ नम्बर वडामा आयोजना गरेको पशु स्वास्थ्य शिविरमा स्थानीय किसानहरूले आफूले पालेको पशुहरूको स्वास्थ्य जाँच गराएका थिए ।
शिविरमा पशुहरूको स्वास्थ्य परीक्षण गरी रोग पहिचान, रोगविरुद्ध खोप, निःशुल्क औषधि, किसानहरूलाई पशुपालन सम्बन्धी विभिन्न जानकारी तथा परामर्श सेवा उपलब्ध रहेको शाखाका कर्मचारी सुमन विमलीले जानकारी दिए ।
शिविरमा सहभागी भएका स्थानीय किसानहरूले यस किसिमको शिविरले पशुहरूको स्वास्थ्यमा सुधार ल्याउन मद्दत पुग्ने बताएका छन्। उनीहरूले पशु चिकित्सकहरूबाट प्राप्त जानकारीले पशुपालन व्यवसायलाई अझै व्यवस्थित बनाउन सहयोग पुग्ने बताएका छन्। २ नम्बर वडाअध्यक्ष राम कँडेलको अध्यक्ष तथा भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा करिब २ सय जना किसानको ३ सयभन्दा बढी पशुहरूको स्वास्थ्य जाँच गराइएको थियो ।