२०८२ फाल्गुन २२ गते , शुक्रबार

आज किचकबध धार्मिक मेला, तीन पालिकामा सार्वजनिक बिदा

sajilo news
पार्थ मण्डल
२०८१ माघ ३० गते , बुधबार
आज किचकबध धार्मिक मेला, तीन पालिकामा सार्वजनिक बिदा

झापा । आज बुधबार महाभारतकालीन किंवदन्तीसँग जोडिएको ऐतिहासिक किचकबध धार्मिक मेला लागेको छ । हरेक वर्ष माघे शुल्क पूर्णिमा/स्वस्थानी व्रतका दिन किचकबध मेला लाग्दै आएको छ । 

भद्रपुर नगरपालिका २ र ३ नम्बर वडामा पर्ने किचकबध धार्मिक स्थलमा बिहानै देखि भक्तजनहरूको घुइँचो लाग्न थालेको किचकबध, धार्मिक तथा पर्यटकीय स्थल संरक्षण समितिले जनाएको छ । 

किचकबधको धार्मिक पोखरीमा माघे शुल्क पूर्णिमा दिन स्वतःस्फूर्त पानी आउने गरेकोले सो पोखरीमा नुहाउँदा व्रतालु भक्तजनहरूले इच्छाएको मनकामना पुरा हुने धार्मिक विश्वास रहेको छ । 

भक्तजनहरूले पोखरीमा पैसा फाल्ने, पान र सुपारी राखेर पूजा अर्चना गरी परेवा उडाउने धार्मिक प्रचलन पनि छ । भक्तजनहरूले भीमसेनले कीचकलाई वध गरेको मूर्तिमा समेत पूजाआर्चना गर्ने गर्छन् । किचकबध मेलामा झापासहित पूर्वका विभिन्न जिल्लासँगै छिमेकी राष्ट्र भारतबाट समेत भक्तजनहरू आउन गरेका छन् । महाभारतकालीन किंवदन्ती अनुसार विराट राजाका सालो कीचक सेनापति थिए । पाँच पाण्डवकी रानी द्रौपदीको यौवन र रूप माथि कुदृष्टि राख्ने सेनापति कीचकलाई भीमसेनले मुड्क्याएर मारेको किंवदन्ती छ ।  सोही कथावस्तुलाई आधार मानेर यस ठाउँको नाम किचकबध राखिएको र पछि किचकबध ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलको नामकरण गरिएको जनाइएको छ ।

आज किचकबध मेलाको अवसरमा भद्रपुर नगरपालिका, हल्दिबारी गाउँपालिका र कचनकवल  गाउँपालिकाले स्थानीय सार्वजनिक बिदा दिएका छन् । 

सम्बन्धित समाचार