२०८३ बैशाख ३० गते , बुधबार

नवरात्रमा कालिका मन्दिरमा दर्शनार्थी बढे

sajilo news
रासस
२०८१ चैत्र २० गते , बुधबार
नवरात्रमा कालिका मन्दिरमा दर्शनार्थी बढे

बागलुङ । वासन्ती नवरात्र शुरु भएसँगै यहाँस्थित कालिका मन्दिरमा श्रद्धालु बढेका छन्।  चैते दशैँसमेत भनिने वासन्ती नवरात्रमा दुर्गा भवानीको पूजा उपासना गरिन्छ। चैते दशैँमा बागलुङ कालिका मन्दिरमा भने विशेष पूजाआराधना हुने भएकाले टाढा-टाढाबाट भक्तजन आउने गर्दछन् ।

चैतको नवरात्रमा बागलुङ कालिकाको पूजाआराधना र बलि दिइँदा आँटेको पुग्ने विश्वास छ। गण्डकी प्रदेशको मुख्य शक्तिपीठका रूपमा मन्दिरको महत्त्व रहेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए। 

‘नवरात्रको तेस्रो दिनसम्म दैनिक हजारौँको सङ्ख्यामा  भक्तजन आउनुभएको छ। योपटक पाँच लाखभन्दा बढी भक्तजन आउने अनुमान गरिएको छ’, खड्काले भने, ‘यही अवसरमा चैत २० गतेदेखि यहाँ मेलासमेत आयोजना गरिएको छ, भक्तजनको चापलाई मध्यनजर गरेर सवारी पार्किङ, सुरक्षालगायतको व्यवस्था मिलाइएको छ ।’

मेला आयोजनाका लागि ५५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। मन्दिरमा छिमेकी मुलुक भारतबाटसमेत श्रद्धालु आउँछन्। मन्दिरमा बोका, राँगो, कुखुरालगायतको बलि दिइन्छ। यस्तै शान्तिको प्रतीक परेवा पनि उडाइन्छ। 

सम्बन्धित समाचार