२०८२ कार्तिक ३० गते , आईतबार

दुई पिरियड मात्र पढाएर जागिर पकाउने शिक्षकलाई अंकुश लगाउँदै सरकार

sajilo news
पत्रपत्रिका
२०८२ जेष्ठ ११ गते , आईतबार
दुई पिरियड मात्र पढाएर जागिर पकाउने शिक्षकलाई अंकुश लगाउँदै सरकार

काठमाडौं  माध्यमिक तहमा शिक्षक अभावको समस्या समाधान गर्न सरकारले एउटै शिक्षकबाट दुई वटा विषय पढाउन सक्नेगरी नीतिगत व्यवस्था गर्न लागेको छ। यो व्यवस्थालाई कार्यान्वयन गर्न सहज हुने गरी क्याम्पसमा पढ्दै विद्यार्थीलाई विषय छनोट कार्य लचिलो बनाउनेबारेमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबिच छलफल भएको छ । 

आगामी आर्थिक वर्षमै बजेटको व्यवस्था गरेर कार्यान्वयनमा लैजाने तयारी भइरहेको मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले बताए। 

प्रवक्ता सापकोटाका अनुसार माध्यमिक तहमा थोरै मात्रै विद्यार्थी भए पनि विषयगत शिक्षक खटाउनुपर्ने र त्यस्ता शिक्षकले कक्षा ९ र १० मा दुई पिरियड मात्रै पढाएर पनि जागिर पकाउने गरेका छन् । माथिल्लो तहमा नियुक्ति पाएका शिक्षकलाई त्यहाँ पर्याप्त कक्षा नभएको अवस्थामा तल्लो तहमा खटाउन पनि सकिएको छैन । 

साथै खचाखच विद्यार्थी भए पनि केही विद्यालयमा भने माध्यमिक तहमा पर्याप्त शिक्षक दरबन्दी दिन सकिएको छैन। सापकोटाले भने, ‘यस्तो अवस्थामा एउटै शिक्षकले दुई वटा विषय पढाउन सक्ने गरी प्रणाली विकास गर्न सकियो भने थोरै शिक्षक दरबन्दीबाट पनि विद्यालयको पढाइ सञ्चालन गर्न सकिन्छ।’

मन्त्रालयले बनाएको योजना कार्यान्वयनमा लैजान कुनै विद्यार्थीले स्नातक तहमा भर्ना गर्दै दुई वटा विशिष्ट विषय रोजेर पढ्न पाउने व्यवस्था गर्नु पर्छ । र उसले शिक्षक सेवा आयोगले शिक्षक पदपूर्तिका लागि आवेदन आह्वान गर्दा पनि सोही अनुसार प्रतिस्पर्धा गर्न पाउने प्रणालीको व्यवस्था गर्नुपर्छ । 

अहिले माध्यमिक तहमा नेपाली, गणित, अङ्ग्रेजीलगायतका विषय अध्ययन गरेपछि सोही अनुसार शिक्षक सेवा आयोगको परीक्षामा एउटा विषयको शिक्षक बन्न मात्रै सहभागी हुन पाउने व्यवस्था छ। ‘अब मन्त्रालयले भने अनुसार भयो भने कुनै विद्यार्थीले स्नातक तहमा नेपाली र अङ्ग्रेजी वा विज्ञान र गणित जस्ता विषयसँगै अध्ययन गर्न पाउँछ। यस्तो विद्यार्थीलाई लक्ष्य गरेर शिक्षक सेवा आयोगले पनि दुवै विषयलाई समेट्ने गरी आवेदन आह्वान गर्छ’, सापकोटाले भने, ‘दुई विषयमा विशिष्टता हासिल गरेका व्यक्तिले आयोग उत्तीर्ण गरेपछि विद्यालयमा दुई वटै विषय पढाउन पाउँछ ।’ आजको गोरखापत्र दैनिकमा समाचार छ  ।

सम्बन्धित समाचार