२०८२ माघ ५ गते , सोमबार

आज झापाका यी स्थानमा सुरक्षा व्यवस्था कडा, कहाँ-कहाँ निकालिँदै छ श्रीकृष्ण रथयात्रा ?

sajilo news
पार्थ मण्डल
२०८२ भाद्र १ गते , आईतबार
आज झापाका यी स्थानमा सुरक्षा व्यवस्था कडा, कहाँ-कहाँ निकालिँदै छ श्रीकृष्ण रथयात्रा ?

भद्रपुर । आज आइतबार झापाका पाँच स्थानमा श्रीकृष्ण रथयात्रा हर्सोउल्लासका साथ निकाल्ने तयारी गरिएको छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’को भोलिपल्ट श्रीकृष्ण रथयात्रा निकाल्ने धार्मिक प्रचलन छ । सोही बमोजिम जिल्लाको भद्रपुर, दमक, गौरीगञ्ज, बिर्तामोड, झापा र गौरादहमा श्रीकृष्ण रथयात्रा निकाल्ने तयारी गरिएको हो । 

जिल्लाकै पहिलो श्रीकृष्ण रथयात्रा विशेष पूजा अर्चनापश्चात् भद्रपुर–५ स्थित लक्ष्मीनारायण मन्दिर अगाडिबाट आज दिउँसो १ बजेदेखि निकालिने र यसको सम्पूर्ण तयारी पूरा भएको श्रीकृष्ण रथयात्रा उत्सव समारोह समितिका अध्यक्ष मुकेश मित्रुकाले जानकारी दिए ।  भद्रपुरको रथयात्राका लागि भारतबाट श्रीकृष्ण ताण्डव नृत्य टोली समेत बोलाइएको उनको भनाई छ ।  विभिन्न झाँकीसहित निकालिने रथयात्रा भद्रपुर नगरपालिका क्षेत्रका गौशाला, झापा चोक, संगमचोक, सगरमाथा चोक, गार्मेटचोक, लेखनाथ चोक, चन्द्रगढी बजार हुँदै एसपी मोड, क्याम्पस मोड, अस्पताल चोक, जनता चोकबाट भद्रपुर बजार हुँदै पुनः लक्ष्मीनारायण मन्दिरमा पुगेर समापन गरिने उनको भनाई छ  । श्रीकृष्ण रथयात्राको संरक्षण भद्रपुर नगरपालिकाले गरिरहेको बताउँदै नगरप्रमुख गणेश पोखरेलले भने, रथयात्रा उत्सवमा सहभागी हुन आम नगरवासीलाई अनुरोध गर्दछु । २०५९ सालमा काठको पाङ्ग्राले बनाइएको रथ जीर्ण भएपछि भद्रपुर नगरपालिकाले ८ लाख रुपैयाँ बजेट छुट्टाएर टायरको पाङ्ग्रासहित फलामले रथ निर्माण गरेपछि केही सहज भएको छ । 

त्यस्तै बिर्तामोडमा रथयात्रा निकाल्ने तयारी गरिएको छ । श्री बालाजी मन्दिर समिति बिर्तामोड र श्री कृष्ण प्रणामी मन्दिर सतगुरु श्री देवचन्द्र सदन बिर्तामोडले श्रीकृष्ण रथयात्रा निकाल्न लागेको हो । विशेष पूजाअर्चाना गरी रथयात्रा बालाजी मन्दिरबाट प्रारम्भ हुने छ । रथयात्रा बिर्तामोड बजार परिक्रमा गर्ने जनाइएको छ । 

गौरीगञ्ज गाउँपालिकामा रथयात्रा निकाल्ने तयारी गरिएको छ । गौरीगञ्जको पहिचान र गौरवलाई मध्य नगर गरी श्रीकृष्ण रथयात्रा समारोह समितिले रथयात्रा निकालिएको हो । २०७५ सालमा पहिलो पटक गाडामा भगवान् श्री कृष्णको मूर्ति राखेर रथयात्रा निकालिएको थियो । खजुरगाछीको राधाकृष्ण मन्दिरबाट सुरु हुने रथयात्रा नगर परिक्रममा गरी पुनः सोही मन्दिरमा आएर समापन हुने जनाइएको छ । 

त्यस्तै गौरादहमा पनि रथयात्रा निकाल्ने तयारी गरिएको छ । झापा गाउँपालिका–६ स्थित श्रीकृष्ण प्रणामी सत्सङ्गलेगाडीमा भगवान् श्रीकृष्ण राखेर रथ निकाल्ने तयारी गरेको जनाइएको छ ।  जिल्लाका विभिन्न पालिकामा रथयात्रा निकाल्ने तयारी गरिएसँगै सुरक्षा व्यवस्था पनि चुस्तदुरुस्त बनाइने जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खडकाले जानकारी दिए । भद्रपुर, बिर्तामोड र दमकमा जिल्लाबाट थप प्रहरी जनशक्ति पठाइने उनको भनाई । अन्य पालिकाहरूमा त्यहीका जनशक्ति परिचालन गरिने उनको भनाई छ । 

सम्बन्धित समाचार