विराटनगरमा राधाकृष्ण रथयात्राको उल्लास
विराटनगर । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट आयोजना हुने ऐतिहासिक राधाकृष्ण रथयात्राले विराटनगरमा धार्मिक तथा सांस्कृतिक उल्लास छाएको छ। विराटनगर-१ पानीट्याङ्कीस्थित राधाकृष्ण मन्दिर परिसरबाट सुरु हुने यो रथयात्रालाई नेपालकै ठूलो मानिन्छ र यसमा नेपाल तथा छिमेकी भारतबाट समेत हजारौं श्रद्धालु भक्तजनको उत्साहपूर्ण सहभागी हुन्छन्।
राधाकृष्णको युगल जोडीलाई रथमा विराजमान गराई नगर परिक्रमा गराउने यो यात्रा मेनरोड, ट्राफिक चोक, रोडशेष, कोशी राजमार्ग हुँदै बरगाछी पुगेर पुनः मन्दिरमा फर्किएर समापन हुन्छ।करिब ९ किलोमिटरको दूरी तय गर्ने यो रथयात्राको क्रममा नगरका विभिन्न ४३ देखि ४४ स्थानमा पूजाआजाका लागि रथलाई विश्राम गराइन्छ।
यो ऐतिहासिक यात्रा वि.सं. १९८८ मा 'खटयात्रा' का रूपमा सुरु भएको थियो र पछि वि.सं. २०२५ देखि रथयात्रामा परिणत भएको हो।यसलाई भारतको जगन्नाथ पुरीपछिको एशियाकै दोस्रो ठूलो रथयात्रा मानिन्छ।रथयात्राका अवसरमा कोशी प्रदेश सरकारले झापा, मोरङ र सुनसरी जिल्लामा सार्वजनिक बिदा दिने गरेको छ।यस वर्षको रथयात्राका लागि शनिबार नयाँ रथको विशेष पूजा गरिएको थियो।