कृषि मन्त्री रामनाथ अधिकारीले दिए पदबाट राजीनामा
कृषि तथा पशुपन्छी विकास मन्त्री राम नाथ अधिकारीले राजीनामा दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर मन्त्री अधिकारीले आफूले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्। जेनजी पुस्ताले हिजो सोमबार गरेकाे प्रदर्शनमा सरकारले गरेको दमनप्रति आपत्ति जनाउँदै उनले राजीनामा दिएका हुन् ।
' देश निर्माण गर्न सहकार्य गर्नु पर्ने पुस्तासँग कसरी युद्ध जस्तो व्यवहार हुन पुग्यो? यसको जवाफ नखोजी सत्तामा बस्नु मेरा लागि सह्य भएन। स-साना कलिला छोराछोरीहरुको हत्या र दमन पश्चात देशलाई नै शोकाकुल पारेर सरकारमा बसिरहन मेरो नैतिकता र मेरो दलले मलाई प्रदान गरेको शिक्षाको खिलाफ हुने मेरो ब्रम्हले चेतावनी दिएको र मलाई मेरो पदीय जिम्मेवारीमा टाँसिइरहन अपराधबोध भएकोले देश र जनतासमक्ष नैतिक रूपमा क्षमायाचना गर्दै, सरकारको यो अलोकतान्त्रिक कदमप्रति आपत्ति जनाउँदै देश र जनतासमक्ष मन्त्री पदबाट राजीनामा पेश गरेको जानकारी गराउँदछु' उनले लेखेका छन्।