२०८२ माघ ५ गते , सोमबार

झापाका पार्टी कार्यालयमध्ये सबैभन्दा बढी क्षति एमालेको

sajilo news
झापा
२०८२ आश्विन ८ गते , बुधबार
झापाका पार्टी कार्यालयमध्ये सबैभन्दा बढी क्षति एमालेको

जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीहरूले बिर्तामोडमा रहेका तीनवटा राजनीतिक दलको जिल्ला पार्टी कार्यालयमा आगजनी गरिरहँदा सबैभन्दा बढी क्षति नेकपा एमालेलाई पुगेको छ ।

बिर्तामोड-४ स्थित एमालेको जिल्ला पार्टी कार्यालयमा भएको तोडफोड र आगजनीबाट ४० लाखभन्दा बढीको क्षति भएको हो । भदौ २४ गते आन्दोलनकारीहरूले एमालेको जिल्ला पार्टी कार्यालयसँगै अर्जुनधारा-६ मा रहेको काँग्रेसको जिल्ला पार्टी कार्यालय र बिर्तामोड-३ मा रहेको माओवादीको जिल्ला पार्टी कार्यालयमा आगजनी गरेका थिए ।

अघिल्लो दिन भदौ २३ गते बेलुकाको तोडफोड र भोलिपल्ट गरिएको आगजनीबाट एमाले पार्टी कार्यालयमा ४० लाखभन्दा बढीको क्षति भएको कार्यालय सचिव छविलाल विश्वकर्माले बताए । आगजनीबाट भवनमा क्षति पुग्नुका साथै ४ वटा कोठाको सोफा सेट , ३ थान कम्प्युटर , २ थान इन्भर्टर , एक थान प्रोजेक्टर , साढे ४ सय प्लास्टिकका कुर्सी , टेबल ७ थान , भीआइपी कुर्सी ८ थान , पङ्खा २८ थान , टीनको दराज ८ थान , काठको दराज २ थान , एसी पाँच थानलगायतका सामान जलेर नष्ट भएको कार्यालय सचिव विश्वकर्माले जानकारी दिए ।

त्यस्तै आगजनीबाट महत्त्वपूर्ण कागजातहरू जलेर नष्ट भएका छन् । पार्टी सदस्यताको रेकर्ड , पार्टी सञ्चालनको कागजात लगायतका महत्त्वपूर्ण अभिलेखहरू जलेका हुन् । जिल्लाका करिब ४९ हजार सदस्यमध्ये २० हजारको रेकर्ड मात्र इमेलमा सुरक्षित रहेको उनले जानकारी दिए ।

जेनजी आन्दोलनको पहिलो दिन नै एमाले पार्टी कार्यालयमा आक्रमण भएको थियो । बेलुका आन्दोलनकारीहरूले पार्टी कार्यालयमा राखिएको जिल्ला अध्यक्ष प्रेमबहादुर गिरी र प्रदेश सांसद छविलाल चुडालको गाडीसँगै अन्य दुई वटा मोटरसाइकलमा तोडफोड गरेका थिए ।आन्दोलनकारीहरूबाट जोगाउन जिल्ला अध्यक्ष गिरीले भोलिपल्ट आफ्नो गाडी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेका थिए । आन्दोलनकारीहरूले इलाका प्रहरी कार्यालय बिर्तामोडमा आगजनी गर्दा अध्यक्ष गिरीको गाडी पनि जलाएका छन् ।

आन्दोलनकारीहरूले आगजनी गरेको केही समयपछि दमकल मुस्किलले आइपुगेर एमाले पार्टी कार्यालयको आगो निभाएको थियो । जसका कारण पार्टी कार्यालय पूर्णरुपमा ध्वस्त हुन पाएन । आन्दोलनकारीहरूले पार्टी कार्यालयसँगै रहेको शिक्षक संगठनको हलमा पनि तोडफोड गरी क्षति पुर्‍याएका छन् ।

सम्बन्धित समाचार