२०८२ माघ ५ गते , सोमबार

सीमावर्ती मेची नदीसहित झापाका नदी किनार सिँगारिए

sajilo news
पार्थ मण्डल
२०८२ कार्तिक १० गते , सोमबार
सीमावर्ती मेची नदीसहित झापाका नदी किनार सिँगारिए

झापा । आज आस्था र श्रद्धाको छठ पर्वको मुख्य दिन । आज बेलुका अस्ताउँदो र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर मनाइने छठ पर्वको लागि नेपाल–भारत सीमावर्ती मेची नदीसहित झापा जिल्लाका विभिन्न नदी तथा खोला किनारहरू सिँगारिएको छ ।  जिल्लाका मेचीसहित बिरीङ, मावा, कमल, कनकाई, माई, निन्दा, हडिया, अदुवा, देउनियाँ लगायतका नदी तथा खोला किनारहरू नयाँ बेहुलीझैँ सिँगारिएको छ । 

झापा जिल्लाकै सबैभन्दा फराकिलो र लामबद्ध छठ पर्व मनाइने मेची नदी किनारमा नेपाल र भारत दुवै देशका व्रतालु परिवार एउटै संगम स्थल बनाएर छठ मनाउँदै आइरहेको मैथिल समाज भद्रपुरका सचिव सुशील कर्णले बताए । 

पूजा स्थलमा पण्डाल, केराको बोट, विभिन्न प्रकार रङ्गीचङ्गी फुलसहित झिलिमिली बत्ती लगाएर सजावट गरिने काम आज दिउँसोसम्म सकिने उनको भनाई छ । 

भद्रपुर- ५ स्थित मेची नदी किनारको मसानघाटदेखि मेची पुलको मुख्य प्रवेशद्वार हुँदै देवी बस्तीसम्मको करिब डेढ किलोमिटरसम्म अन्दाजी ५ हजार घाट निर्माण गरिएको छ । मसानघाट पूर्व नदी किनारमा भारतीय नागरिकले पूजा स्थल बनाएका छन् ।  उता देवीबस्ती क्षेत्रमा घाट व्यवस्थापन कार्यलाई तिहार अघि देखि नै तीव्रता दिएको युनिक समूहका अध्यक्ष प्रकाश राजवंशीले बताए । समूहले दुई हजार फुट भन्दा बढी घाट निर्माण गरेको छ । 

समूहले सो बापत व्रतालु परिवारसँग ५ फुट घाटको ५ सयदेखि ८ सय रुपैयाँसम्म लिने र गरिब तथा विपन्न परिवारका लागि आवश्यकता अनुसार घाट निःशुल्क उपलब्ध गराइने अध्यक्ष राजवंशीले बताए । 

बिजुली बत्तीका लागि १० वटा टावर, पण्डाल, प्रहरी बिट, चिया स्टल, सूर्य नारायण मन्दिर रंगरोगन, भजन सन्ध्याको आयोजना गरिएको उनको भनाई छ । उता बिरिङ खोलामा छठ पूजाको भव्य तयारी गरिएको छ । श्री छठ समाज सेवा समिति बिर्तामोडले बिरिङ खोलामा छठ पूजाको तयारी पुरा भइसकेको बताउँदै यस वर्ष १७५ वटा घाट रहने जनाएको छ । गत वर्ष १५४ वटा घाट रहेका थिए । व्रतालुहरूको सङ्ख्या थपिएपछि यस वर्ष २१ वटा घाट थप्नु परेको श्री छठ समाज सेवा समितिकी अध्यक्ष सङ्गीता रौनियारले जानकारी दिइन् । 

 

सम्बन्धित समाचार