सामाजिक सञ्जाल नियमनमा गृहमन्त्रीले थाले छलफल
गृहमन्त्री ओमप्रकाश अर्यालले सामाजिक सञ्जाल नियमनका लागि छलफल थालेका छन् । मन्त्री अर्यालले सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण, घृणा फैलाउने र मिथ्या सूचनाको नियमनका लागि नेपाल प्रहरीको साइबर ब्युरोका अधिकारी, सञ्चार मन्त्रालय र अन्तर्गतका दूरसञ्चार निकाय तथा प्रेस काउन्सिलका पदाधिकारीहरूसँग संयुक्त छलफल गरेका छन् ।
गृहमन्त्री अर्यालको अध्यक्षतामा शुक्रबार गृह मन्त्रालयमा भएको सर्वपक्षीय बैठकमा सूचनाको हक र प्रेस स्वतन्त्रतामा कुनै असर नपर्नेगरी मिथ्या सूचना र सूचनाको अनधिकृत प्रयोगलाई रोकथाम र नियमन गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।
बैठकमा गृहसचिव रामेश्वर दंगाल, सञ्चार तथा सूचना प्रविधि सचिव राधिका अर्याल, नेपाल दूरसञ्चार प्राधिकरणका प्रमुख भुपेन्द्र भण्डारी, गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसाल, नेपाल प्रहरीअन्तर्गतको साइबर ब्युरोका प्रहरी नायब महानिरीक्षक नवीन्द्र अर्यालको उपस्थिति रहेको थियो ।
मन्त्री अर्यालले सामाजिक सञ्जाल र डिजिटल माध्यमलाई भ्रामक, भ्रमपूर्ण र हानिकारक सूचना सम्प्रेषण गरिरहँदा छुट दिइरहनुपर्छ भन्ने पक्षमा कोही पनि नभएको भन्दै व्यक्तिगत प्रतिष्ठा, संस्थागत छवि, सामाजिक सद्भाव र राष्ट्रिय सुरक्षामा प्रतिकूल असर पर्ने अवस्थामा नियमन गर्न सकिने तर्क राखेका थिए । यो खबर आजको राजधानी दैनिकमा छ ।