दुई तिहाइको शक्ति संघर्षः बिर्तामोडमा एमाले र रास्वपा आमनेसामने
बिर्तामोड नगरपालिकामा नेकपा एमालेको दुई तिहाइ बहुमत छ । बिर्तामोड नगरपालिकामा विरासत कायम राखेको एमालेले दुईवटा स्थानीय तहको निर्वाचनमा लगातार बहुमत ल्याएको हो ।
तर, भदौ २३ र २४ को जेनजी आन्दोलनपछि देशको परिस्थिति बद्लिँदै फागुन २१ को संसदीय निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै दुई तिहाइ बहुमत ल्याएको छ । केन्द्रमा रास्वपा दुई तिहाइ बहुमत नजिक छ भने बिर्तामोड नगरपालिकामा एमाले दुई तिहाइ बहुमतसहित अझै दरिलो गरी उभिरहेको छ ।
यो अवस्थामा फागुन २१ पछि दुवै राजनीतिक दलबीच शक्ति संघर्ष चल्दै आएको छ । त्यसकै परिणामस्वरूप हिजो झापा क्षेत्र नं २ का सांसद इन्दिरा राना मगर र बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईँबिच टकराव भएको हो । जेनजी आन्दोलनपछि एक अर्काको कट्टर विरोधी देखिएका रास्वपा र एमालेले एक अर्काको अस्तित्व स्वीकार नगरी पेल्न खोज्दा पटक पटक विवाद निम्तिएको हो ।
हिजो बिर्तामोड नगरपालिकाको कार्यालयमा त्यस्तै भएको हो । विकास निर्माणका लागि संघीय सरकारका जनप्रतिनिधि राना मगर र स्थानीय सरकारका जनप्रतिनिधि प्रसाईँले मिलेर काम गर्नुपर्नेमा दुवैबीच तालमेल नै मिल्न सकेको छैन । बिर्तामोड नगरपालिकाका विभिन्न सडकमा भएका खाल्डाखुल्डी पुर्नका लागि पुरुवाको विषयमा छलफल गर्न सांसद राना मगर गएकी थिइन् । अहिले खोला बन्द भएकाले पुरुवा दिन नसक्ने नगर प्रमुख प्रसाईँले बताएपछि विकास निर्माणको विषय राजनीतिक विवादतिर मोडिएको थियो ।
नगर प्रमुख प्रसाईँले ‘ घण्टी आओस् कि लन्ठी आओस् समन्वय गरेर जाँदा मात्र समाधान हुन्छ’ भनेर बोलेको भिडियो यति बेला भाइरल बनेको छ । सांसद राना मगर सौहार्दपूर्ण वातावरणमा छलफलमा आएको र उनीसँग आएका कार्यकर्ताहरूले पेल्न थालेपछि भनाभन भएको नगर प्रमुख प्रसाईँले बताइन् । उनले रास्वपाका कार्यकर्ताहरूले आफूलाई पटक पटक दबाब दिँदै आएको सुनाइन् ।
यस विषयमा प्रतिक्रिया लिन खोज्दा सांसद मगरको फोन रिसिभ भएन । यसैबीच उपप्रमुख नगेन्द्र सङ्ग्रौलाका भाइ पारस सङ्ग्रौलाले पूर्व उपसभामुख समेत रहेकी सांसद राना मगरको बारेमा सामाजिक सञ्जालमा तथानाम लेखेको भन्दै प्रहरीले उनलाई पक्राउ गर्न लागेको छ । स्थानीय तहको निर्वाचन आउनु अगावै रास्वपा र एमालेबीच संघर्ष चर्किँदै गएको हो । आउँदो निर्वाचनमा दुवै दलबीच घमासान पर्ने देखिएको छ ।