झापामा एमालेको शक्ति प्रदर्शन, अर्यालले भनिन्- लाखौं ताराका लागि एउटै सूर्य काफी छ
झापा । नेकपा (एमाले) केन्द्रीय सचिव पदमा अर्यालले लाखौँ ताराहरूका सामुन्ने एउटै सूर्य काफी रहेको बताएकी छिन् ।पार्टीका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले जति तारा भए पनि एउटै सूर्य काफी रहेको बताइन् ।
अध्यक्ष ओलीको गृह जिल्ला झापा मुलुकको भविष्यको मार्गचित्र भएको धारणा राखिन् । झापाले मुलुकको रूपान्तरणका लागि ठुलो योगदान गरेको बताउँदै फेरि झापाली जनता संविधानको रक्षाका लागि अग्रभागमा आएकोमा खुशी व्यक्त गरिन् ।
नेकपा एमाले झापाले आज बिर्तामोडमा आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै प्रतिगमनका विरुद्ध झापाली जनताको बलियो साथ एमालेलाई रहेको बताइन् । प्रतिनिधिसभा पुनर्स्थापना, संविधानको रक्षाका लागि पूर्वबाट झापालीहरूले दिएको सन्देश देशभरका लागि ठुलो योगदान हुने धारणा व्यक्त गरिन् ।
जनसभालाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रीय सचिव अर्यालले प्रतिगमनकारी, देशद्रोही र आतंककारीहरुलाई एक दिन कानुनको कठघरामा उभ्याएर छोड्ने चेतावनी दिइन् । देशको झण्डा ओढेर राष्ट्रलाई खरानी बनाउने छुट कसैलाई नभएको उनको भनाई थियो । राष्ट्र र जनताको अहितमा भएको कुनै पनि कामप्रति एमाले चुप नबस्ने धारणा राख्दै उहाँले त्यस्ता समूहहरूलाई ठेगान लगाएर छोड्ने चेतावनी दिइन् ।
जनसभामा उनले संविधानको रक्षा गर्ने दायित्व एमालेको काँधमा आएको बताइन् । उनले संविधानको रक्षाका लागि झापाली जनताको विशेष भूमिका आवश्यक भएको बताउँदै प्रतिगमनलाई पछारेर अघि बढ्न एमाले सडकमा आएको बताइन् ।
संविधानको भावना मिचेर बनेको सरकार असंवैधानिक भएको र यसले निर्वाचन गर्ने भन्दै जनतालाई भुलभुलैयामा पारेको उनको भनाई छ । उनले भनिन् जननिर्वाचित सरकारलाई अपदस्त गरेर निर्वाचन गर्छु भन्नु नाटक मात्रै हो । एमाले निर्वाचनको लागि तयार छ, त्यसको लागि वातावरण निर्माण गर्न सक्छ, उनले प्रश्न गरिन् । शान्ति पूर्ण चुनावका लागि एमाले जहिल्यै पनि तयार रहेको उनको भनाई छ ।
झापाको जनसभाले एमालेलाई जनताको साथ रहेको सन्देश दिएको बताउँदै उनले एमाले विरुद्ध जतिसुकै पार्टी एक भए पनि एक्लै सूर्य काफी रहेको बताइन् ।
केही पार्टी एक भएका छन्, नयाँ पार्टी खोलिएका छन्, उनले भनिन् – यो सबै एमालेको विरोध गर्न खोलिका पार्टी मात्रै हुन् । संविधान र लोकतन्त्रको रक्षा एमालेले मात्रै गर्न सक्छ ।
जनसभामा एमालेका युवा नेता मनोज ताम्लीले राष्ट्रियताका निम्ति एमाले बाहेक कसैले बलिदानी दिन सक्ने बताए । उनले लोकतन्त्र ल्याउन एमालेले नै बलिदानी दियो, लोकतन्त्रको रक्षाका लागि पनि एमाले नै बलिदानी दिन तयार रहेको बताए ।
देश जलाउनेहरूलाई राष्ट्रवादी मान्न नसकिने भन्दै नेता ताम्लीले सिंहदरबार र सर्वोच्च जलाउनेहरू नेपाली हुन नसक्ने उनको भनाई थियो । जनसभालाई सम्बोधन गर्दै फेरि पनि देशको नेतृत्व, पार्टीको नेतृत्व केपी ओलीले नै गर्नुपर्ने उनको धारणा थियो ।
जिल्लाभरबाट सहभागी हजारौँ नेता कार्यकर्ताहरूको र्याली मुक्तिचोकबाट सुरु भई सिटी सेन्टरमा आयोजित जनसभामा पुगेको थियो । असंवैधानिक सरकार विरुद्ध झापाली जनताले जनसभा मार्फत बलियो खबरदारी गरेका हुन् । पार्टीका झापा जिल्ला अध्यक्ष प्रेम गिरीको अध्यक्षतामा भएको सभामा एमाले झापाका उपाध्यक्ष शिव ढुङ्गेल, बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई लगायतले सम्बोधन गरेका थिए ।