२०८२ माघ ५ गते , सोमबार

पशुपतिनाथ मन्दिरमा हुने सन्ध्या आरतीमा समेत भ्रष्टाचार ! १८ वर्षदेखि निजी क्षेत्रको हालीमुहाली

sajilo news
पत्रपत्रिका
२०८२ मंसीर १९ गते , शुक्रबार
पशुपतिनाथ मन्दिरमा हुने सन्ध्या आरतीमा समेत भ्रष्टाचार ! १८ वर्षदेखि निजी क्षेत्रको हालीमुहाली

काठमाडौँ । तीन पटकसम्म पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव भइसकेको व्यक्तिको मिलेमतोमा पशुपतिनाथ मन्दिरमा हुने दैनिक आरती निजी क्षेत्रलाई दिएको पाइएको छ ।

आरती व्यवस्थापनमा पशुपति क्षेत्र विकास कोषको रकम खर्च हुने तर दैनिक आरतीबापत प्राप्त हुने रकम भने समितिको नाममा मात्र पुग्ने भन्दै यसअघि विभिन्न अध्ययन समितिले समेत समितिलाई नभई कोषमार्फत नै आरती गराउन सुझाव दिँदै आएका छन् ।

तर, ती यसै प्रतिवेदनलाई बेवास्ता गर्दै तत्कालीन सदस्यसचिव गोविन्द टण्डनको स्वार्थमा समितिलाई हस्तान्तरण गरिएको आरती अहिलेसम्म पनि एउटा समितिको कब्जामा छ । गोविन्द टण्डन तत्कालीन सदस्यसचिव हुँदा २१ साउन २०६४ मा श्रीपशुपतिनाथ एवं बाग्मती गंगा आरती सेवा समितिलाई आरतीको जिम्मा लगाइएको थियो । त्यसयता यस समितिले पशुपतिनाथ मन्दिर पारिपट्टि बाग्मती किनारमा नित्य सन्ध्या आरती सञ्चालन गर्दै आएको छ ।

समितिले आरतीका क्रममा जन्मोत्सव, विभिन्न अवसरका नाममा भक्तजनबाट ठूलो रकम उठाउने गरेको छ । तर, यसरी उठाएको रकमको कुनै पनि हिस्सा पशुपति क्षेत्र विकास कोषका नाममा जाँदैन । आरतीको व्यवस्थापन र सरसफाइको खर्च भने अहिलेसम्म कोषले व्यवस्थापन गर्दै आएको छ ।

कोषले गर्नुपर्ने आरती समितिलाई दिएका कारण एकातिर कोषको अस्तित्वमा प्रश्न उठेको र अर्कोतर्फ कोषको आम्दानीमा असर परेको भन्दै आरतीलाई कोषमातहत ल्याउन दुईवटा प्रतिवेदनले सुझाव दिए पनि पूर्वसदस्यसचिव टण्डनको दबाबमा समितिलाई नै निरन्तर आरतीको जिम्मा लगाइँदै आएको छ ।

समितिको कार्यवाहक अध्यक्षमा ज्योतिष बासुदेवकृष्ण शास्त्री छन् । टण्डनका नजिकका शास्त्रीले नेतृत्व गरेको समितिलाई आरतीका लागि उपलब्ध गराइएको स्थान सही नभएको र आरतीबापत प्राप्त हुने रकम कोषको नाममा पनि दाखिला गर्ने व्यवस्थाका लागि विभिन्न अध्ययन समितिले सुझाव दिए पनि हालसम्म कोषले कार्यान्वयन गरेको छैन ।

पशुपतिनाथ क्षेत्रमा हुने आरतीबापत प्राप्त हुने आम्दानी अपारदर्शी भएका आवाज उठिरहेका बेला आरती समितिका कार्यवाहक अध्यक्ष भने पशुपति क्षेत्र विकास कोषको सदस्यसचिव बन्ने लबिइङमा छन् ।

आरती समितिको पारदर्शितामा प्रश्न उठिरहेका बेला पूर्वसदस्यसचिव टण्डनको समर्थनमा शास्त्री सदस्यसचिव बन्ने लबिङइमा रहेको कोषका सदस्यहरू बताउँछन् ।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् सदस्य हरिनाथ ढकालको संयोजकत्वमा गठित ५ सदस्यीय समितिले समेत आरतीबापत प्राप्त भएको आम्दानी कोषमा दाखिला गरेको नदेखिएको, आरतीको स्थान सुरक्षाका कारण जोखिमपूर्ण रहेकोले स्थानान्तरण गर्नुपर्ने र धार्मिक समितिहरूलाई नभई कोष आफैंले नित्य आरती सञ्चालन गर्नुपर्ने सुझाव दिएको थियो ।

तर, सो सुझाव अहिलेसम्म कार्यान्वयन भएको छैन । यो सुझाव कार्यान्वयन गरेर कोष आफैंले आरती गरेर भक्तजनबाट भएको आम्दानी कोषमा दाखिला गर्नुको सट्टा शास्त्रीको नेतृत्वमा रहेको समितिलाई नै आरतीको जिम्मा दिइँदै आएको छ ।

यस समितिले ११ फागुन २०८० मा प्रतिवेदन वुझाएर कोष आफैंलाई आरतीको प्रबन्ध गर्न सुझाउनु अघि पनि १० भदौ २०८० मै अर्को एउटा अध्ययन समितिले दैनिक सन्ध्याकालीन आरतीबापत प्राप्त हुने आम्दानीमध्ये ३० प्रतिशत पशुपति क्षेत्र विकास कोषमा जम्मा गर्नुपर्ने सुझाव दिएको थियो ।

सो समितिले कोषले आरती सञ्चालनसम्बन्धी कुनै पनि व्ययभार व्यहोर्न नहुने, आरती समितिमा कोषका सदस्यसचिव संरक्षक रहने, कम्तीमा कोषका दुईजना सदस्यहरूलाई आरती समितिमा संलग्न गराउनुपर्ने, आरतीको आम्दानी पारदर्शी बनाउन बैंकिङ प्रणालीमार्फत कारोबार गर्नुपर्नेलगायतका सुझाव दिएको थियो ।

तर, टण्डन र आरती समितिका कावा अध्यक्ष शास्त्रीकै दबाबमा कोषले अहिलेसम्म यो प्रतिवेदन पनि कार्यान्वयन गरेको छैन । समितिले गर्ने यस आरतीमा उठ्ने रकम र यसको पारदर्शिताका विषयमा यसअघि पटकपटक अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाउँदै आएको छ । आजको राजधानी दैनिकमा खबर छ । 

सम्बन्धित समाचार