२०८२ माघ ५ गते , सोमबार

२०८३ को पात्रो कुन ग्रन्थका आधारमा निकाल्ने भन्नेमा अन्योल

sajilo news
काठमाडौं
२०८२ मंसीर २९ गते , सोमबार
२०८३ को पात्रो कुन ग्रन्थका आधारमा निकाल्ने भन्नेमा अन्योल

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८३ को पात्रो कुन ग्रन्थका आधारमा गणना गर्ने भन्ने निर्णय यसै साता गर्ने जनाएको छ । समितिले आइतबार गरेको नयाँ पदाधिकारीहरूको परिचयात्मक र पूर्व पदाधिकारीलाई धन्यवाद तथा सम्मान कार्यक्रममा अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले केतकी र सूर्य सिद्धान्तका आधारमा गणित गर्दा आउने फरकलाई हेरेर निर्णय गरिने जानकारी दिएका हुन् । उनले केतकी वा सूर्यसिद्धान्त  कुन ग्रन्थका आधारमा गणना गर्ने भन्ने निर्णय गर्ने बताए।

दुई ग्रन्थका आधारमा गरिएको गणितमा आफूले छ घण्टासम्मको फरक पाएको उनले बताए । यसको निर्णयका लागि यसै हप्ता पञ्चाङ्गकारसँग बैठक गर्ने उनले जानकारी दिए।

‘सिद्धान्त ज्योतिषका विद्वान् नयराज पन्तले ग्रहण र ग्रहको उदयास्त दृक गणित र पञ्चाङ्ग (पात्रो) सूर्य सिद्धान्तका आधारमा गर्नुपर्ने भन्नुभएको थियो, यो नै सही हो भन्ने मलाई लाग्छ, समितिमा आगामी वर्षका लागि स्वीकृति लिन पेश भएका पञ्चाङ्ग सूर्य सिद्धान्त र केतकी दुवै आधारमा गणना भई आएका छन्’, अध्यक्ष ढकालले भने ।

पूर्व अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले सूर्य सिद्धान्तबाट ग्रहण, उदयास्त, ग्रहको वक्री मार्गी अवस्था आदि नमिल्ने गरेको बताए । भारतीय ज्योतिषीले सूर्य सिद्धान्तबाट नमिल्ने गरेको सुनाएको उनले कार्यक्रममा जानकारी गराए ।

सम्बन्धित समाचार