२१ फागुनको निर्वाचन अनिश्चित!
काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन अनिश्चित बन्दै गइरहेको छ । विघटित प्रतिनिधिसभालाई नै पुनस्र्थापना गनुपर्नेमा राजनीतिक दलको ध्यान केन्द्रित भएको छ । सरकार र निर्वाचन आयोगले निर्वाचनका लागि गर्नुपर्ने काम पनि सुस्त देखिएकाले निर्वाचन अनिश्चित बन्दै गइरहेको छ ।
निर्वाचन गराउन सबै शक्ति केन्द्रित गरेको सरकारले राजनीतिक दलका शीर्ष नेतृत्वसँगको संवादमा चासो नदेखाएको, निर्वाचनको तयारीभन्दा प्रतिनिधिसभा पुनस्र्थापनामा कांग्रेस एमालेले जोड दिएको, जेनजी अभियन्ताबाटै प्रधानमन्त्री कार्कीको राजीनामा मागिएको, नागरिक समाजसमेत कार्कीको विपक्षमा उभिँदै गएको जस्ता कारण निर्वाचनको माहोल कमजोर बन्दै गएको छ ।
सुशीला कार्की नेतृत्वको सरकारविरुद्ध अहिले जेनजी युवाहरू आन्दोलनमा छन् । जेनजी आन्दोलनको जगमा बनेको सरकारले जेनजीकै माग पूरा गर्न नसकेको र राजनीतिक दललाई विश्वासमा नलिएकाले २१ फागुनमा हुने भनिएको निर्वाचनको पक्षमा उभिन नसक्ने उनीहरूको चेतावनी छ ।
प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सहितका शीर्ष नेताहरू नै यथाअवस्थामा निर्वाचन नहुने निष्कर्षमा पुगेका छन् । प्रधानमन्त्रीले सोमबार बोलाएको बैठकमा समेत राजनीतिक दलका नेताहरूले नेतामाथि लगाइएको स्थानहद, सुरक्षाको भरपर्दो वातावरण नभएको जस्ता कारण देखाउँदै निर्वाचन सुनिश्चिततामा प्रश्न उठाएका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकारले निर्वाचन गराउनै नसक्ने भन्दै पटकपटक अभिव्यक्ति दिँदै आएका छन् । निर्वाचनमा आफूहरू सहभागिताका लागि तयार रहेको विषय कहिल्यै नबोलेका ओली अहिलेको सरकारले निर्वाचन गराउनै नसक्ने भन्दै सधैं अभिव्यक्ति दिँदैआएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचन हुने नहुने बारेमा केही बोलेका छैनन् । तर, आफूनिकटका नेतालाई विघटित प्रतिनिधिसभा पुनस्र्थापनाका लागि निवेदन दिन भन्दै सर्वोच्चतिर पठाएका छन् । एमाले नेताहरू प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै सर्वोच्चमा रिट दायर गरिसकेका छन् ।
सोमबार महाराजगन्जमा भएको देउवा, ओली छलफल पनि प्रतिनिधिसभा पुनस्र्थापनामै केन्द्रित रह्यो । एमाले महासचिव शंकर पोखरेललाई लिएर देउवालाई भेट्न पुगेका ओलीले अब कांग्रेस, एमालेले प्रतिनिधिसभा पुनस्र्थापनाको मागसहित संयुक्त रूपमा सर्वोच्च जानुपर्ने प्रस्ताव गरेका छन् । यसअघि ओलीले देउवालाई भेटेको भोलिपल्टै कांग्रेस सभापति देउवानिकटका केही सांसद प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै सर्वोच्चमा रिट दायर गर्न पुगेका थिए । अब कांग्रेस र एमाले दुवैले संयुक्त रूपमा सर्वोच्च जाने अन्तिम तयारीमा पुगेका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।