'झापा–५ बाट निर्वाचन लडे बालेन शाहको जमानत जफत गरिदिन्छौँ'
नेकपा एमालेका केन्द्रीय सदस्य चिन्तन पाठकले झापाली जनताले बालेन शाहको जमानत जफत गरिदिने बताएका छन् । झापा –५ बाट निर्वाचन लड्ने बालेन शाहको सपनालाई जमानत जफत गरेर देखाइदिने चेतावनी दिए । सरकारविरुद्ध नेकपा एमाले झापाले आयोजना गरेको खबरदारी कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य पाठकले बालेन शाहका लागि झापा अत्यन्तै दुखद र अशुभ हुने बताए ।
उनले असंवैधानिक सुशीला कार्की नेतृत्वको सरकारलाई घुँडा टेकाएर छोड्ने गरी एमाले सडकमा आएको बताएका छन् । विदेशी शक्तिहरूको इसारामा देशलाई सिद्ध्याउने खेल स्वीकार्य छैन, उनले भने – एमालेले संविधान र लोकतन्त्रलाई ट्र्याकमा ल्याएर छोड्नेछ । नेता पाठकले संसद् पुनर्स्थापना नभएसम्म मुलुकले निकास नपाउने धारणा व्यक्त गर्दै पुनर्स्थापना नभएसम्म सडक नछोड्ने चेतावनी दिए । उनले देशको रक्षाका लागि आम जनतालाई समेत सडकमा आउने आव्हान गरेका छन् ।
यस्तै, पार्टीका झापा जिल्ला अध्यक्ष प्रेम गिरीले विदेशीको इसारामा देश चलाउनेहरूलाई तह लगाउन एमाले टाउकोमा काक्रो बाँनेर सडकमा निस्किएको बताए । उनले संविधान मिच्ने, विदेशीको गतिविधि टुलुटुलु हेरेर नसक्ने बताउँदै खबरदारी गरेका छन् । नेपाली जनतामाथि गिद्धे दृष्टि लगाए प्रतिकार गरेर देखाइदिने चेतावनी दिए ।
एमाले संविधान संशोधन गरेर भए पनि देशलाई निकास दिन तयार रहेको बताउँदै अध्यक्ष गिरीले संसद् पुनर्स्थापना अनिवार्य भएको बताए । एमाले चुनावबाट कहिल्यै भाग्दैन, उनले भने – एमाले जनताको सबैभन्दा लोकप्रिय पार्टी हो । अघिल्लो निर्वाचनमा एमालेविरुद्ध सबै एक हुँदा पनि सबैभन्दा लोकप्रिय मत ल्याएको हो ।
नेताहरूले यो सरकारले निर्वाचन गर्न नसक्ने दाबी गरेका छन् । दमकको कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य देवेन्द्र दाहालले कानुन बनाउन र हरेक मुद्दाको फैसला गर्न जनताबाट निर्वाचित संसद् पुर्नजिवित गर्नुपर्ने बताए ।
एमालेका लागि मात्र नभएर अन्य पार्टी र जनताका लागि संसद् विघटन मान्य नभएको उनको भनाई थियो । जेनजीले उठाएका माग पुरा गर्न र सर्वपक्षीय सरकार गठन गर्न पहिला सांसदबाट संविधान संशोधन गरी सो कुरा संविधानमा व्यवस्था गर्नुपर्ने भएकोले संसद् पुनर्स्थापना आवश्यकता भएको बताए ।
एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लगायत दलका नेताहरूलाई स्थान हद कायम गरेर चुनाव गराउँछु भन्दै सरकारले नाटक मात्र गरेको उनको धारणा थियो ।
एमालेले खबरदारीको शुरुवात मात्र गरेको हो , उनले भने – संविधानको कुनै धाराले प्रधानमन्त्री सुशीला कार्कीलाई चिन्दैन । त्यसैले तत्काल यो सरकारलाई हटाउनुपछै । एमालेले झापाको बिर्तामोड र दमकमा एकैदिन सरकारविरुद्ध खबरदारी गरेको हो । बजार परिक्रमा गरेर कोणसभा गरिएको थियो ।