फुटपछिको कांग्रेस कठिन मोडमा : शेरबहादुरका ६ विकल्प, गगनका ५ अवसर
काठमाडौं । विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस इतिहासकै कठिन मोडमा पुगेको छ । सात दशक लामो इतिहास बोकेको कांग्रेस निर्वाचनअघि विभाजित भएको छ । विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापति भए । नयाँ नेतृत्व चयन गर्दै सम्पन्न विशेष महाधिवेशनमा सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूह सहभागी भएको थिएन ।
विवाद निर्वाचन आयोगमा पुगेपछि शुक्रबार आयोगले थापा नेतृत्वको नवनिर्वाचित केन्द्रीय समितिलाई आधिकारिक कांगे्रस भएको ठहर ग¥यो । निर्वाचन आयोगको यस्तो निर्णयपछि देउवा–खड्का समूह सर्वोच्च अदालत जाने निष्कर्षमा पुगेको छ । कार्यवाहक सभापति खड्काले आफूहरू नै आधिकारिक कांग्रेस भएको प्रमाण लिन अब सडक र अदालत जाने निर्णयमा पुगेको बताएका छन् ।
शुक्रबार थापा नेतृत्वको कांगे्रसलाई आधिकारिकता दिएपछि शनिबार गम्भीर छलफल गरेको देउवा–खड्का समूह आइतबार अदालत जाँदैछ । सोमबार सोनम ल्होसारको सार्वजनिक बिदा छ । मंगलबार (६ माघ) मा प्रतिनिधिसभा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । देउवा–खड्का समूह अदालत जाने दिन नै अदालतबाट कुनै निर्णय पाउने सम्भावना छैन । राजनीतिक उतरार्धमा देउवा कठिन मोडमा पुगेका छन् ।
५ पटक प्रधानमन्त्री, ७ पटक सांसद भएका देउवाले आगामी बैशाखमा पार्टीको १५औं नियमित महाधिवेशन गरेर राजनीतिबाट विश्राम लिने घोषणा गरिसकेका थिए । तर जेनजी आन्दोलनपछि पार्टीमा बैशाखसम्म कुर्ने मुडमा नेता कार्यकर्ता थिएनन् । २१ फागुनको निर्वाचनमा देउवाकै हस्ताक्षरमा चुनावमा टिकट लिएर उम्मेदवार नहुने अडानसहित विशेष महाधिवेशनबाट ‘अपमानजनक’ देउवाको बहिर्गमन भएको छ ।
देउवा खड्का निकट नेताहरू अपमानजनक देउवाको बहिर्गमन भएको भन्दै त्यसलाई स्वीकार नगरिने भन्दै आक्रोशित छन् । राजनीतिका ‘चतुर’ खेलाडी देउवा पक्षसँग अब र ाजनीतिक रूपमा ६ विकल्प बाँकी देखिन्छ । यो खबर आजको राजधानी दैनिकमा छ ।
देउवाका विकल्प
१. निर्वाचन बहिष्कार गर्ने
२. स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचनमा जाने
३. ‘डमी’ दलसँग सहकार्य गर्ने
४. मनोनयन सार्न दबाब दिने
५. गगनसामु आत्मसमर्पण
६. चुपचाप बस्ने, रमिते हेर्ने, देखाउने
गगनका अवसर
१. पुस्तान्तरण र हस्तान्तरणको जस लिने
२. प्रधानमन्त्रीमा पहिलो पटक पुस्तान्तरणको एजेन्डा
३. युवा ‘सेन्टिमेन्ट’ बोक्ने अवसर
४. एकल वर्चस्व र शक्ति परीक्षणको अवसर
५. गुटगत स्वार्थको अन्त्य गर्ने