उम्मेदवारी मनोनयन दर्ताका लागि एमाले अध्यक्ष ओली आज झापा आउँदै
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा आउँदैछन् । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गर्न उनी आज बिहान १०स्२५ को जहाजबाट भद्रपुर विमानस्थल ओर्लने कार्यक्रम छ।
यस पटकको निर्वाचनमा झापा ५ राष्ट्रिय राजनीतिमै सबैभन्दा बढी चर्चाको केन्द्रमा रहेको छ, जहाँ अध्यक्ष ओलीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट काठमाडौँका मेयर बालेन शाहले पनि उम्मेदवारी दिने तयारी गरेका छन्।
झापा पुगे लगत्तै अध्यक्ष ओलीले भद्रपुरमै क्षेत्र नम्बर १ र ३ का नेता कार्यकर्तासँग भेटघाट गरी पछिल्लो अवस्थाबारे बुझ्नेछन्। त्यसपछि बिर्तामोडमा क्षेत्र नम्बर २ र सुरुङ्गामा क्षेत्र नम्बर ४ को तयारीबारे जानकारी लिने तालिका रहेको छ। आफ्नै निर्वाचन क्षेत्र झापा ५ को तयारीबारे भने उनले दमकमा स्थानीय नेताहरूसँग विस्तृत छलफल गर्ने कार्यक्रम रहेको छ ।