जेनजी आन्दोलनपछि पहिलो पटक गृहजिल्ला झापा आइपुगे ओली
झापा । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि स्थानहद फुकुवा भएर पहिलो पटक गृहजिल्ला झापा आइपुगेका छन्। करिब चार महिनापछि गृहजिल्ला झापा आएका पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई भद्रपुर विमानस्थलमा नेता तथा कार्यकर्ताहरूले भव्य स्वागत गरेका थिए।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मनोनयन पत्र दर्ता गराउन एक दिन अघि नै ओली झापा आएका हुन्। विमानस्थल ओर्लिएर अध्यक्ष ओली नेता तथा कार्यकर्तासँग पाँचै निर्वाचन क्षेत्रको चुनावी माहोल बुझेर गृहनगर दमकतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको जनाइएको छ।
यस पटकको निर्वाचनमा झापा क्षेत्र नम्बर ५ राष्ट्रिय राजनीतिमै सबैभन्दा बढी चर्चामा रहेको छ। यहाँ अध्यक्ष ओलीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट बालेन्द्र (बालेन) शाह र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट युवा नेता रञ्जित तामाङले उम्मेदवारी दिने तयारी गरेका छन्।
गत पुस २१ गते ओलीको स्थानहद फुकुवा भएको थियो। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा प्रधानमन्त्री रहेका ओलीलाई उच्चस्तरीय जाँचबुझ आयोगले स्थानहद लगाएको थियो। ओलीमाथि गत असोज १२ गतेको आयोगको बैठकले स्थानहद लगाउने निर्णय गरेको थियो। जेनजी आन्दोलनको सम्बन्धमा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा गरेका कामकारबाहीको सम्बन्धमा सोधपुछ गर्न उनको विदेश भ्रमण रोक्का र उपत्यका छाड्न नपाउने निर्णय गरिएको थियो।