२०८३ असार २ गते , मंगलबार

स्पेनलाई केप भर्डले बराबरीमा रोकियो, आत्मघाती गोलले हारबाट जोगियो बेल्जियम

sajilo news
एजेन्सी
२०८३ असार २ गते , मंगलबार
स्पेनलाई केप भर्डले बराबरीमा रोकियो, आत्मघाती गोलले हारबाट जोगियो बेल्जियम

फिफा विश्वकपमा पहिलो पटक सहभागिता जनाएको केप भर्डले फुटबल इतिहासकै एउटा सबैभन्दा ठूलो आश्चर्यजनक नतिजा निकाल्दै बलियो टोली स्पेनलाई गोलरहित बराबरीमा रोकेको छ।

मात्र ५ लाख जति जनसंख्या भएको सानो राष्ट्र केप भर्डले लुइस डे ला फुएन्टेको कप्तानीमा रहेको स्पेनिस टोलीविरुद्ध उत्कृष्ट रक्षात्मक खेल प्रदर्शन गर्‍यो।  खेलभरि स्पेनले अपेक्षित रूपमा बल आफ्नो नियन्त्रणमा राखे पनि केप भर्डको संगठित र दृढ रक्षापंक्तिका अगाडि उसका स्टार स्ट्राइकरहरू फिक्का साबित भए।

पहिलो हाफमा स्पेनले गोल गर्ने केही सुन्दर अवसरहरू पाएको थियो। मार्क कुकुरेलाको पासमा फेरान टोरेसको प्रहार क्रसबारमा ठोकिएर फर्किएको थियो। सोही रिबाउन्ड बलमा मिकेल ओयारजाबालले गरेको हेड प्रहारलाई केप भर्डका ४० वर्षीय भेट्रान गोलकिपर ुवोजिन्हाुले उत्कृष्ट बचाउ गरे। खेलको हाफ-टाइम हुनै लाग्दा आयमेरिक लापोर्टेको कडा हेड प्रहारलाई पनि वोजिन्हाले उत्कृष्ट डाइभ हान्दै विफल पारिदिएका थिए

ब्लु सार्क्सउपनामले चिनिने केप भर्डले केवल रक्षात्मक खेल मात्र खेलेन,  स्पेनको पोस्टमा काउन्टर अट्याक गर्दै आफ्ना डिफेन्डरहरूलाई श्वास फेर्ने मौका समेत दियो। दोस्रो हाफको सुरुवातमा स्पेनका फाबियन रुइजको लामो दुरीको प्रहार क्रसबार माथिबाट बाहिरियो। दोस्रो हाफमा स्पेनले फराकिलो आक्रमण गर्ने अनुमान गरिए पनि केप भर्डको रक्षापंक्तिका अघि उसको केही लागेन। 

खेलको ७१औं मिनेटमा स्पेनका प्रशिक्षकले युवा लामिन यमाललाई मैदान भित्र पठाए। यमालको आगमनसँगै स्पेनको आक्रमणमा केही गति र नयाँपन देखिए पनि केप भर्डका खेलाडीहरूले उनलाई निकै कडा मार्किङ गरे र स्पेनलाई स्पष्ट गोल गर्ने अवसर बनाउन दिएनन्। खेलको अन्तिम क्षणमा स्पेनका ओयारजाबालले गोल गर्ने अर्को एउटा मौका पाएका थिए, तर उनको प्रहार टार्गेटमा पर्न सकेन। अन्ततः केप भर्डले खेलमा टिकिरहँदै आफ्नो डेब्यु विश्वकपमा एक ऐतिहासिक र सनसनीपूर्ण अंक जोड्न सफल भयो।

यता समूह जीको रोमाञ्चक खेलमा बेल्जियम र इजिप्टले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। अमेरिकाको सियाटलमा पहिलो पटक आयोजना भएको विश्वकप खेलमा इजिप्ट ऐतिहासिक जितको नजिक पुगेर पनि आत्मघाती गोलका कारण अभागी साबित भयो।

खेलको १९ औं मिनेटमा एमाम आसुरले गोल गर्दै इजिप्टलाई सुरुवाती अग्रता दिलाएका थिए। आफ्नो ३४ औं जन्मदिन मनाइरहेका स्टार स्ट्राइकर मोहामेद सलाहको उत्कृष्ट पासलाई अल अह्रीका मिडफिल्डर आसुरले नियन्त्रणमा लिँदै बेल्जियमका डिफेन्डर थोमस मुनिएर र गोलकिपर थिबाउट कोर्टुवालाई बिट गरेर प्रहार गरेका थिए। २८ वर्षीय आसुरको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो।

विश्वकप इतिहासमा विरलै मात्र अग्रता लिने गरेको इजिप्टले पहिलो हाफभरि बेल्जियमलाई दबाबमा राखेको थियो। तर, दोस्रो हाफमा बेल्जियमका प्रशिक्षकले परिवर्तन गरेको रणनीति खेलको टर्निङ प्वाइन्ट बन्यो।

मैदानमा परिवर्तित खेलाडीका रूपमा प्रवेश गरेको ठीक २० सेकेन्डमै स्टार स्ट्राइकर रोमेलु लुकाकुले खेलको आफ्नो नियन्त्रणमा ल्याए।  ६६ औं मिनेटमा थोमस मुनिएरको क्रसलाई रोक्ने प्रयास गर्दा इजिप्टका डिफेन्डर मोहामेद हानीले आफ्नै पोस्टमा आत्मघाती गोल गर्न पुगे।

लुकाकुको दबाबका कारण हानीले गरेको सो गल्तीले इजिप्टका गोलकिपर मोस्ताफा शौबिरलाई रनभुल्लमा पारिदियो र बेल्जियम खेलमा फर्कियो।

यस बराबरीसँगै इजिप्टले विश्वकपमा आफ्नो पहिलो जित दर्ता गर्ने ऐतिहासिक अवसर गुमाएको छ। खेलको अन्त्यतिर दुवै टोलीबाट थप गोल हुन नसकेपछि दुवैले १-१ अंकमा चित्त बुझाएका छन्।

सम्बन्धित समाचार