जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश
फिफा विश्वकप अन्तर्गत समूह ई को आफ्नो अन्तिम तथा निर्णायक खेलमा इक्वेडरले बलियो टोली जर्मनीमाथि २-१ को रोमाञ्चक पुनरागमन जित दर्ता गरेको छ।
यो ऐतिहासिक जितसँगै इक्वेडर प्रतियोगिताको नकआउट (राउन्ड अफ ३२) मा प्रवेश गरेको छ। यसअघि नै लगातार दुई खेल जितेर नकआउट चरणमा पुगिसकेको जर्मनी पराजित भए पनि गोल अन्तरका आधारमा समूह विजेता बन्न सफल भयो।
यता सुरुआती दुई खेलमा कोट डिभ्वार र कुरासाओ विरुद्ध गोल गर्न नसकेको इक्वेडरका लागि यो खेल गर या मरको अवस्थामा थियो। न्युजर्सी स्टेडियममा पहेँलो जर्सीमा उपस्थित हजारौँ समर्थकमाझ खेलको दोस्रो मिनेटमै जर्मनीले अग्रता लिएको थियो।
फ्लोरियन विर्ट्जको पासमा लेरोय सानेले पेनाल्टी बक्सभित्रबाट उत्कृष्ट गोल गर्दै जर्मनीलाई १–० को अग्रता दिलाए। सानेको यो प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो गोल हो भने यो गोल सन् १९३४ यता विश्वकपमा जर्मनीले गरेको सबैभन्दा चाँडो गोल समेत बन्यो।
सुरुवातमै गोल खाए पनि दबाबमा नआई इक्वेडरले आक्रामक खेल जारी राख्यो। खेलको ९औँ मिनेटमा इक्वेडरका लागि निलसन एन्गुलोले बराबरी गोल फर्काए।
पाब्लो विटेले जर्मनीको हाफमा बल खोसेर दिएको पासलाई सदुपयोग गर्दै एन्गुलोले डि(बक्स बाहिरबाट प्रहार गरेको बल जर्मनीका गोलकिपर मानुएल नोयरलाई छलाउँदै जाली चुमेको थियो।
जारी विश्वकपमा इक्वेडरको यो पहिलो गोल हो। दोस्रो हाफको सुरुवातमै रेफ्री टोरी पेन्सोले जर्मनीलाई पेनाल्टी दिएकी थिइन्, तर भिएआरको भिडियो रिभ्युपछि सानेले विटेमाथि फाउल गरेको देखिएपछि उक्त पेनाल्टी रद्द गरियो।
खेलको ७७औँ मिनेटमा इक्वेडरले निर्णायक गोल गर्यो। कर्नरबाट आएको बललाई वैकल्पिक खेलाडी केभिन रोड्रिगेजले फ्लिक गरेपछि गोन्जालो प्लाटाले जर्मनीका गोलकिपर नोयरभन्दा पहिले बल छुँदै पोस्टको माथिल्लो भागमा प्रहार गरेर टोलीलाई २–१ को अग्रता दिलाए, जुन जितका लागि पर्याप्त बन्यो।
यो जितसँगै इक्वेडर उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीहरूमध्ये पर्दै नकआउट चरणमा पुग्न सफल भएको छ। जर्मनी पराजित भए पनि ६ अङ्क र उत्कृष्ट गोल अन्तरका कारण समूह विजेता बन्यो। समान ६ अङ्क नै जोडेको कोट डिभ्वार भने गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहँदै अघिल्लो चरण प्रवेश गरेको छ।