२०८३ असार १२ गते , शुक्रबार

विश्वकप नकआउट चरणमा जापानको प्रतिद्वन्द्वी ब्राजिल

sajilo news
एजेन्सी
२०८३ असार १२ गते , शुक्रबार
विश्वकप नकआउट चरणमा जापानको प्रतिद्वन्द्वी ब्राजिल

अमेरिकामा भएको रोमाञ्चक र कडा प्रतिस्पर्धात्मक खेलमा जापान र स्वीडेनले १–१ गोलको बराबरी खेल्दै फिफा विश्वकप २०२६ को नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेका छन्। 

यो बराबरीसँगै जापान समूह एफ को उपविजेता बन्दै अन्तिम ३२ मा प्रवेश गरेको छ भने स्वीडेन उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने आठ टोलीभित्र पर्दै अघिल्लो चरणमा पुग्न सफल भएको छ। डलास स्टेडियममा भएको यस खेलमा जापानलाई अघिल्लो चरण प्रवेशका लागि मात्र १ अंक (बराबरी) को आवश्यकता थिय। 

अर्कोतर्फ, ग्राहम पोटरको प्रशिक्षणमा रहेको स्वीडेनलाई भने दोस्रो स्थानमा उक्लिन स्पष्ट जितकै खाँचो थियो। खेलको सुरुदेखि नै जापानले नियन्त्रण जमाए पनि गोल गर्न सकेन। 

जापानका दाइजेन माएडाको हेड बल थोरैले बाहिरियो भने युकिनारी सुगावाराको प्रहारलाई स्वीडेनका गोलकिपर ज्याकब जेटरस्ट्रोमले विफल पारिदिए।  केइतो नाकामुराको उत्कृष्ट प्रहारलाई पनि जेटरस्ट्रोमले पोस्टको दिशा परिवर्तन गराएका थिए। दोस्रो हाफ सुरु भएको १० मिनेटमै जापानले खेलमा अग्रता लियो। 

रित्सु दोआनको उत्कृष्ट थ्रु–बललाई सदुपयोग गर्दै दाइजेन माएडाले चलाखीपूर्ण तरिकाले बललाई जाली चुमाए।जापानको यो अग्रता लामो समय टिक्न सकेन। गोल खाएको ६ मिनेटपछि नै (६२औँ मिनेटमा) स्वीडेनका एन्थनी एलाङ्गाले २० यार्ड टाढाबाट प्रहार गरेको शक्तिशाली सट गोलमा परिणत भएपछि खेल १–१ को बराबरीमा आयो।

खेलको अन्तिम क्षणतिर स्वीडेनले आक्रामक खेल पस्किए पनि जापानका गोलकिपर जायन सुजुकीले अलेक्ज्याण्डर इसाक र एलाङ्गाका उत्कृष्ट प्रहारहरूलाई रोक्दै स्वीडेनलाई जितबाट बञ्चित गरे। समूहको अर्को खेलमा नेदरल्याण्ड्सले पहिले नै बाहिरिसकेको ट्युनिसियालाई पराजित गर्दै समूह एफको विजेता बनेको छ। उसले नकआउट चरणमा मोरक्कोसँग खेल्ने छ। 

यो नतिजासँगै अब उपविजेता जापानले अन्तिम ३२ को खेलमा बलियो प्रतिद्वन्द्वी एवं समूह सीको विजेता ब्राजिलको सामना गर्नेछ। स्वीडेनले भने अब समूह बी,  ई वा आई मध्ये एकको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

सम्बन्धित समाचार