२०८३ असार १३ गते , शनिबार
समूह विजेता बन्दै स्पेन नकआउट चरणमा, उरुग्वे विश्वकपबाट बाहिरियो
फिफा विश्वकप २०२६ अन्तर्गत समूह एच को खेलमा स्पेनले उरुग्वेलाई १-०ले पराजित गरेको छ। स्टाडियो ग्वाडलाजारामा भएको समूह चरणको अन्तिम खेलमा स्पेनले उरुग्वेलाई पराजित गर्दा स्पेन समूह विजेता बन्दै नकआउट पुगेको हो।
स्पेनको जितमा एलेक्स बयानाले गरेको गोल नै निर्णायक बन्यो। खेलको ४२ औँ मिनेटमा स्पेनका लागि एलेक्स बयानाले गोल गरेका थिए। दोस्रो हाफमा उरुग्वेले केही मौकाहरू सिर्जना गरे पनि सफलता भने हात पारेन। स्पेनसँग पराजित हुँदै उरुग्वेको विश्वकपको यात्रा टुंगिएको छ।
यो समूहबाट विजेताको रुपमा स्पेनले नकआउट खेल्नेछ भने उपविजेताको रुपमा विश्वकपको डेब्युटेन्ट टोली केप भर्डेले खेल्नेछ। केप भर्डेले अर्जेन्टिनासँग नकआउटमा भेट्नेछ। यो समूहबाट उरुग्वे र साउदी अरेबिया समूह चरणबाटै बाहिरिएका छन्।