२०८३ श्रावण ३ गते , आईतबार

मोरोक्को फेरि स्तब्ध, फ्रान्स लगातार तेस्रो पटक सेमिफाइनलमा

sajilo news
एजेन्सी
२०८३ असार २६ गते , शुक्रबार
मोरोक्को फेरि स्तब्ध, फ्रान्स लगातार तेस्रो पटक सेमिफाइनलमा

कप्तान केलियन एमबाप्पेको सानदार प्रदर्शनको मद्दतले साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। 

बोस्टन रंगशालामा भएको रोमाञ्चक क्वार्टरफाइनल खेलमा मोरोक्कोलाई २–० ले पराजित गर्दै फ्रान्सले लगातार तेस्रो पटक विश्वकपको अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो। पहिलो हाफमा पेनाल्टी मिस गरेर निराश बनेका एमबाप्पेले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै टोलीको जितको आधार तयार पारे।

खेलको सुरुवातदेखि नै फ्रान्सले मोरोक्कोमाथि दबाब बनाएको थियो। खेलको पाँचौँ मिनेटमै डेयोट उपामेकानोको कडा हेडरलाई मोरोक्कोका गोलकिपर यासिन बोनोले विफल पारिदिएका थिए।

पहिलो हाफको २८औँ मिनेटमा  मोरोक्कोका नौसैर माजराउईले पेनाल्टी बक्सभित्र एमबाप्पेलाई लडाएपछि फ्रान्सले सुनौलो अवसर प्राप्त गर्‍यो। तर, फ्रान्सेली कप्तान एमबाप्पेको पेनाल्टी प्रहारलाई मोरोक्कोका गोलरक्षक बोनोले उत्कृष्ट बचाउ गरेपछि पहिलो हाफ गोलरहित बराबरीमा सकियो।

खेलेको ६० औँ मिनेटमा डि-बक्सको किनाराबाट एमबाप्पेले उत्कृष्ट 'कर्लिङ' प्रहार गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाए। यो जारी विश्वकपमा उनको आठौँ गोल हो।

पहिलो गोल गरेको ६ मिनेटपछि नै एमबाप्पेको पासमा ओसमान डेम्बेलेले चलाखीपूर्ण गोल गर्दै फ्रान्सको जित सुनिश्चित गरे। यो जितसँगै सन् २०१८ को विजेता र २०२२ को उपविजेता फ्रान्सले अब सेमिफाइनलमा बेल्जियम वा स्पेनमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

केलियन एमबाप्पे : जारी विश्वकपका ६ खेलमध्ये ५ खेलमा गोल गर्दै उनी गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडि छन्। विश्वकप इतिहासमा उनको कुल गोल संख्या २० पुगेको छ, जुन लियोनेल मेसी (२१ गोल) भन्दा मात्र एक गोल कम हो।

ओसमान डेम्बेले: एमबाप्पे र जस्त फोन्टेनपछि विश्वकपको एउटै संस्करणमा ५ गोल गर्ने उनी तेस्रो फ्रान्सेली खेलाडी बनेका छन्। अयुब बुआदी (मोरोक्को): १८ वर्ष २८० दिनको उमेरमा विश्वकपमा ५ खेल खेल्ने उनी अफ्रिकी टोलीका पहिलो युवा खेलाडी बनेका छन्।

सम्बन्धित समाचार