२०८३ भाद्र १ गते , सोमबार

कोशीमा सत्ता समीकरण फेरियो, नेकपाबाट चार मन्त्री र एक राज्यमन्त्री

sajilo news
झापा
२०८३ भाद्र १ गते , सोमबार
कोशीमा सत्ता समीकरण फेरियो, नेकपाबाट चार मन्त्री र एक राज्यमन्त्री

चार मन्त्री र एक राज्यमन्त्री पाएर नेपाली कम्युनिस्ट पार्टी कोशी प्रदेश सरकारमा सामेल भएको छ । एमाले र नेकपाबीच केन्द्रीय तहमा सहमति भएसँगै नेकपा कोशी प्रदेश सरकारमा सहभागी भएको हो । नेकपाका चार मन्त्री र एक राज्यमन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले उनीहरूलाई शपथ गराएका हुन्।

केन्द्रमा भएको तीन बुँदे सहमतिमा सरकार सञ्चालनमा सहकार्य गर्ने, राजनीतिक स्थायित्वका लागि दुवै दलबीच समन्वय गर्ने तथा प्रदेश सरकारमा समेत सहमतिको भावना कार्यान्वयन गर्ने विषय समेटिएको थियो । सोही सहमतिअनुसार २०८१ वैशाख २७ मा गठित मौजुदा मन्त्रिमण्डलमा नेकपा सामेल भएको हो। एमालेसँगको अघिल्लो गठबन्धनमा सहभागी काँग्रेस मन्त्रीहरूले गत बुधवार राजीनामा दिएका थिए।

नेकपाबाट खिनु लङ्वा लिम्बूले सरकारको नेतृत्व गरेकी छन्। इलामकी लिम्बूले पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएकी छन्। यस्तै, मोरङका जीवन आचार्यलाई भौतिक पूर्वाधार विकास, सोलुखुम्बुका गोम्बु शेर्पालाई आन्तरिक मामिला तथा कानुन र मोरङकी गीता तिम्सिनालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। सुनसरीकी सपना दर्जी भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेकी छन्।

लिम्बू यसअघि पनि कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्री बनेकी थिइन्। उनलाई दोस्रो पटक पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी प्राप्त भएको छ । आचार्यले यसअघि आर्थिक मामिला तथा योजना र पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्। आचार्यले यसपटक मालदार भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रदेशसभामा पहिलो पटक निर्वाचित उनी यस पटक मन्त्रीमा नियुक्त भएसँगै तीन पटक मन्त्री बनेर ह्याट्रिक गरेका छन् । यस पटक पनि मन्त्री सिफारिस गर्ने क्रममा नेकपाभित्र निक्कै सकस भयो । मोरङ ६ (१)बाट निर्वाचित आचार्यलाई मन्त्री बनाउने कि नबनाउने भन्ने विषय नै विवादको मुख्य कारण थियो । यद्यपि उनलाई नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डको ज्वाइँ भएकै कारण धेरैले रोक्न सकेनन् । शेर्पा र तिम्सिना भने पहिलोपटक मन्त्री बनेका हुन्।

सरकारमा नेकपा सहभागी भएसँगै एमालेबाट यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका इन्द्रमणि पराजुलीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ। राज्यमन्त्री उमाकान्त गौतमलाई पनि स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ। त्यसैगरी, सामाजिक विकास मन्त्री रामप्रसाद मेहतालाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको छ। एमालेका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेप र खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्री तिलचन पाठकको जिम्मेवारी भने यथावत् रहेको छ ।

सम्बन्धित समाचार